एमजी रोडमा स्वस्तिमा, सलोन र अखिलेशको नृत्य



रंगखबर, काठमाडौँ – फिल्म ‘हजार जुनीसम्म’को पहिलो गीत सार्वजनिक गरिएको छ । भव्य कोरस प्रयोग गरिएको गीतले गान्तोकको एमजी रोडको प्रशंसा गर्छ । कविराज गहतराजले कोरियोग्राफी भरेको गीतमा स्वस्तिमा खड्का, सलोन बस्नेत र अखिलेश प्रधानले कम्मर मर्काएका छन् ।

राजनराज सिवाकोटीको शब्द, संगीत र स्वर सजित गीतमा छायाँकार पुरुषोत्तम प्रधानको पनि एक झल्को देखाइएको छ । भने, संगीतकारलाई गायकीमा मेलिना राईले साथ दिएकी छन् ।

बिकाशराज आचार्य निर्देशित म्युजिकल लभस्टोरी फिल्ममा आर्यन सिग्देल, प्रियंका कार्की, संचिता लुइँटेल, स्वस्तिमा खड्का, सलोन बस्नेत, शिवहरी पौडेल, अनुभव रेग्मीलगायतका कलाकारको अभिनय छ । यहि फिल्मबाट अखिलेश प्रधानले अभिनयमा डेब्यु गर्दैछन् ।

साउन ३० गतेदेखि अलनेपाल रिलिज हुने फिल्ममा बिकाशराज आचार्य/सामिप्यराज तिमिल्सिनाको पटकथा/संवाद, पुरुषोत्तम प्रधानको छायाँकन, उदय सोताङ/बसन्त सापकोटा/राजनराज सिवाकोटी/प्रविण पौडेलको संगीत छ । फिल्ममा लगानी विशाल चाम्लिङले भरेका छन् ।

प्रतिक्रिया दिनुहोस्