शो काउन्ट: ‘दाल भात तरकारी’लाई ‘छक्का पन्जा ३’ पछिकै उच्च शो



रंगखबर, काठमाडौँ – वर्षको सुरुवातमा रिलिज भएको ‘कालो वर्ष’ हलमा आए गएको पत्तो भएन । बैशाख १३ मा रिलिज भएको हलिउड फिल्म ‘एभेन्जर्स: इन्ड गेम’को डरले कुनै ठुला फिल्म रिलिज भएनन् ।

अब बैशाख २० गतेबाट महासंचारको ‘दाल भात तरकारी’ रिलिज हुँदैछ । फिल्मको हाइप र दर्शक क्रेजलाई हेरेर मल्टीप्लेक्सका स्टेशनमा अग्रिम बुकिङ खुला गरिएको छ ।

बम्पर व्यापार गरिरहेको ‘एभेन्जर्स’ शुक्रबारदेखि दोस्रो सातामा प्रवेश गर्दैछ । हलिउड फिल्मको दबदबाका वावजुत ‘दाल भात तरकारी’ले मल्टीप्लेक्स तर्फ उच्च शोज हात पारेको छ । देशका ७ ठुला मल्टीप्लेक्सले यो साता १५४ शोज निकालेका छन् ।

जसमध्ये सुदन केसी निर्देशित फ्यामिली ड्रामाले ५२.२८ प्रतिशत शोमा कब्जा जमाएको छ । त्यस्तै ४५.७५ प्रतिशत हिस्सा ‘एभेन्जर्स’को पक्षमा छ । भने, ‘ए मेरो हजुर ३’ जम्मा १.९६ प्रतिशतमा टिकिरहेको छ । पहिलो साताको तुलनामा ‘एभेन्जर्स’ले ४३ प्रतिशत शोज गुमाएको छ ।

‘छक्का पन्जा ३’ पछाडी रिलिज भएका नेपाली फिल्म मध्ये ‘दाल भात तरकारी’ले पाएको शोज नै उच्च हो । अनमोल केसीको ‘क्याप्टेन’ले ३६ र ‘ए मेरो हजुर ३’ले जम्मा ३१ प्रतिशत शोज प्राप्त गरेका थिए ।

हरिबंश आचार्य, नीरुता सिंह, पुष्प खड्का र आँचल शर्माको मुख्य भूमिका रहेको फिल्मलाई क्युएफएक्सले ९ स्टेशनमा ४५ शोज दिएको छ । त्यस्तै एफक्युबले ७, बिग मुभिज/बिएसआर/मीड टाउनले समान ६/६ शोज निकाल्दा क्युज र सिडिसीले ६/६ शो छुट्याएका छन् ।

आशा अनुरुपको बुकिङ

निक्कै नै आशा गरिएको फिल्मले शुक्रबारदेखि सिंगल स्क्रिनमा एकक्षत्र राज गर्नेछ । किनकी, सोलो रिलिजको मौका पाएको फिल्मसँग फ्रेस हलिउड र बलिउड पनि भिड्ने छैनन् ।

मल्टीप्लेक्समा पनि उच्च शोज हात पारेपछि फिल्मलाई बम्पर व्यापार गर्ने ठुलो अवसर मिलेको छ । अग्रिम बुकिङको नजिता हेर्दा शुक्रबार बिहान २० देखि ३० प्रतिशत बीचको अकुपेन्सी कायम गर्ने अनुमान गरिएको छ ।

दिउँसो र बेलुकाको शोजमा फिल्मले ७० देखि ८५ प्रतिशतसम्मको अकुपेन्सी पाउन सक्छ ।

प्रतिक्रिया दिनुहोस्