डि सिने अवार्ड: सलिनमान र नम्रता उत्कृष्ट, ‘छक्का पन्जा ३’लाई ८ अवार्ड (पूर्णसुची)
रंगखबर, काठमाडौँ – एघारौं संस्करणको डि सिने अवार्ड – २०७६ मा सलिनमान बनियाँले फिल्म ‘यात्रा – अ म्युजिकल भ्लग’बाट उत्कृष्ट अभिनेताको अवार्ड उचालेका छन् । उत्कृष्टको रेसमा उनले प्रदीप खड्का ‘लभ स्टेशन’, विपिन कार्की ‘प्रसाद’, आर्यन सिग्देल ‘कायरा’, आकाश श्रेष्ठ ‘रामकहानी’ र अनमोल केसी ‘ए मेरो हजुर ३/क्याप्टेन’लाई पछाडी पारे ।
त्यस्तै उत्कृष्ट अभिनेत्री अवार्ड ‘प्रसाद’बाट नम्रता श्रेष्ठको पोल्टामा पर्यो । उनले मेनुका प्रधान ‘साइँली’, जसिता गुरुङ ‘लभ स्टेशन’, पूजा शर्मा ‘रामकहानी’, साम्राज्ञी राज्यलक्ष्मी शाह ‘कायरा’, स्वस्तिमा खड्का ‘जय भोले’ र दीपिका प्रसाईं ‘छक्का पन्जा ३’लाई उछिन्न सफल भइन ।
क्रिटिक्स, जुरी र प्रोत्साहनसहित प्रतिस्पर्धाको ३० विधा समेटिएको अवार्डमा ‘छक्का पन्जा ३’ले सर्वाधिक ८ विधामा कब्जा जमायो । उसलाई १५ विधामा मनोनित गरिएको थियो । त्यस्तै सर्वाधिक १७ विधामा मनोनित ‘यात्रा’ले ६ अवार्ड आफ्नो पोल्टामा पार्यो ।
गत वर्ष रिलिज ९६ मध्ये ४८ फिल्मले भाग लिएको समारोहमा १६ फिल्मले विभिन्न विधामा अवार्ड जित्न सफल भए । यसपटक उत्कृष्ट निर्देशक र फिल्मको अवार्डसमेत ‘छक्का पन्जा ३’को पक्षमा गयो । निर्देशक दीपाश्री निरौला निर्देशकको अवार्ड थाम्न स्टेज चढेकी थिइन् ।
समारोहमा वरिष्ठ अभिनेता नीर शाहलाई छायाँछवि लाइफटाइम लिजेण्ड्री अवार्डबाट सम्मानित गरिँदा, गायिका देविका बन्दना र निर्देशक सोभित बस्नेतलाई छायाँछवि चलचित्रकर्मी रजत सम्मान दिइयो । त्यस्तै पत्रकार अनन्त वाग्लेलाई छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरियो ।