‘ए मेरो हजुर ३’ सक्सेस पार्टीमा २१ को संयोग



रंगखबर, काठमाडौँ – बक्सअफिसमा ९.५ करोड माथिको व्यापार गरिसकेको फिल्म ‘ए मेरो हजुर ३’ले सफलताको उत्सव सम्पन्न गरेको छ । अभिनेत्री सुहाना थापाको २१ औँ बर्थडेको केक काटेर सुरु भएको ककटेल पार्टीमा टिम, फिल्मकर्मी र पत्रकार सरिक भएका थिए ।

चैत २९ गते रिलिज भएको फिल्मले बक्सअफिसमा १० करोड माथिको आँकडा छुने अनुमान गरिएको छ । शुक्रबारबाट पाँचौ सातामा प्रवेश गर्न लागेको ‘ए मेरो हजुर ३’ सम्भवत: गत वर्षको ५१ दिन मनाउने दोस्रो फिल्म बन्नेछ ।

सुहानाको २१ औँ जन्मदिनमा झरना थापाले करिअर सुरु गरेको फिल्म २१ वर्ष नै पुगेको छ । त्यस्तै सुनिलकुमार थापा प्रोडक्सन र सुहाना इन्टरटेनमेन्टले फिल्म निर्माणको पनि २१ वर्ष पुरा गर्यो । यसलाई एउटा संयोग नै मान्नु पर्छ ।

छोरी सुहाना जन्मिएपछि झरनाले होम प्रोडक्सनको सिनेमा ‘धर्म संकट’बाट लिड हिरोइनमा डेब्यु गरेकी थिइन् । जुन फिल्म सुनिलकुमारले निर्माण गरेका थिए । २१ औँ वर्ष लामो कार्यकालमा झरना र सुनिलले सुहाना जस्तो प्रतिभाशाली कलाकार सिनेमा क्षेत्रलाई दिएका छन् ।

निर्देशक दीपाश्री निरौला, अभिनेताद्वय भुवन केसी र रमेश उप्रेतीले सुहानाको उज्ज्वल भविष्यको कामना गरे । झरना थापाले निर्देशन गरेको ‘ए मेरो हजुर ३’मा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत, रविन्द्र झा, रूपा घिसिङ, रक्षा गौतम, बिशाल पहाडी, रेअर राई, सरोज खनाललगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्