उपासनाले दया र कर्मासँग कबड्डी खेल्ने



रंगखबर, काठमाडौँ – सुपरहिट कमेडी सिरिज ‘कबड्डी’को तेस्रो सृंखला घोषणा गरिएको छ । राजधानीमा प्रेसमिट गरि घोषणा गरिएको फिल्मको नाम ‘कबड्डी कबड्डी कबड्डी’ राखिएको छ ।

अघिल्लो सृंखलाका मेरुदण्ड दयाहाङ राई यस फिल्मका मुख्य कलाकार हुन् । त्यस्तै फिल्ममा रिश्मा गुरुङ, माओत्से गुरुङ, बुद्दि तामाङ, पुष्कर गुरुङको पनि मुख्य भूमिका रहनेछ । यसपटक यो सिरिजमा उपासना सिंह ठकुरी, विल्सन बिक्रम राई, कर्मा शाक्य र लुनिभा तुलाधरले इन्ट्री गरेका छन् । भने, सौगात मल्ल, शिशिर बाँग्देल जस्ता कलाकार हुने छैनन् ।

स्वजातिय विवाह र अन्तरजातीय प्रेम सम्वन्धको अन्तरद्वन्द रहने फिल्ममा कविता आले, विजय बराल, कमलमणि नेपाल, अरुणा कार्की पोखरेल, राजन खतिवडा, मणि के राई, डीबी गुरुङ, राजेन्द्र थापाको पनि अभिनय रहनेछ ।

बासुरी फिल्मसको निर्माण र सिनेमा आर्टको प्रस्तुति रहने फिल्मसँग माउन्टेन स्टोरिज र नौमती इन्टरटेनमेन्टले सहकार्य गरेका छन् । रामबाबु गुरुङले निर्देशन गर्ने फिल्ममा उपेन्द्र सुब्बा र निर्देशक स्वयम्को लेखन छ ।

 

जेठ ५ देखि छायाँकनमा जाने फिल्ममा शैलेन्द्र ध्वज कार्कीको छायाँकन, निमेष श्रेष्ठको सम्पादनर रोहित शाक्यको पार्श्वसंगीत रहनेछ । फिल्ममा मणिराम पोखरेल, अर्जुन कार्की र ओम चन्द रौनियारले लगानी भर्नेछन् । ४५ दिने लामो छायाँकन सेड्युल राखिएको फिल्मलाई भदौ देखि अशोजको बीचमा रिलिज गरिने निर्माण पक्षले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्