‘जात्रै जात्रा’को जादु कायमै, ब्लकबस्टर क्लब तर्फको उडान !



रंगखबर, काठमाडौँ –  जेठ ३ गते रिलिज भएको फिल्म ‘जात्रै जात्रा’ले बक्सअफिसमा सुनौलो यात्रा गरिरहेको छ । तेस्रो सातामा प्रवेश गर्दा पनि फिल्म हेर्ने दर्शक कमि देखिएको छैन ।

पहिलो साता ६ ठुला मल्टीपेल्क्समा ५४ शोजबाट प्रदर्शनी सुरुवात गरेको फिल्म, तेस्रो साताममा ६० बढी शोजमा फैलिएको छ । सामान्यतया फिल्मको शोजमा पहिलो साताबाटै गिरावट आउँन थाल्छ । र, चलेको फिल्मले पनि तेस्रो सातासम्म ५० प्रतिशत बढी शोज गुमाउन पुग्छन । तर, ‘जात्रै जात्रा’को जादु छाइरहेकै छ । त्यो पनि अँझ बुलन्द भएर ।

मल्टीप्लेक्समा मात्र नभईकन फिल्मले सिंगलमा पनि राम्रो प्रदर्शन गरिरहेको छ । सिंगल तर्फ ३ दर्जन बढी हलमा रिलिज भएको फिल्मले तेस्रो सातामा ५ दर्जन बढी हल कब्जा गरेको छ ।

बक्सअफिसमा ब्लकबस्टर क्लब नजिक

प्रदीप भट्टराई निर्देशित फिल्मको व्यापार पनि दुई सातामा उम्दा देखिएको छ । स्टेशन ५ ले दिएको जानकारी अनुसार दुई साताको अन्त्यमा फिल्मले ७.३० करोड ग्रस बटुलिसकेको छ ।

पहिलो साता ४.२० करोडको व्यापार गरेको फिल्मले आठौँ दिन अर्थात दोस्रो शुक्रबार ५ करोड ग्रसको आँकडा पार गरेको थियो । दोस्रो सातामा फिल्मले ३.१० करोडको कलेक्सन गर्दै कुल ७.३० करोड ग्रस बटुल्न सफल भयो ।

फिल्मको माउथ पब्लिसिटी बलियो देखिएकाले ५१ दिने प्रदर्शन सजिलै पार गर्ने अनुमान गरिएको छ । आशा गरौँ, यो विचमा ब्लकबस्टर क्लब (१० करोड माथि) व्यापारिक अंक छुनेछ ।

विपिन कार्की, दयाहाङ राई, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, वर्षा राउतलगायतको मुख्य भूमिका रहेको फिल्मले ओभरसिज प्रदर्शन अन्तर्गत अस्ट्रेलियामा पनि आक्रामक व्यापार गरिरहेको छ । कमेडी फिल्मले १० किलो सुनको कथा रोचक ढंगले प्रस्तुत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्