५ वर्षमा रिलिजको लागि तयार भयो ‘कीर्तिपुर’



रंगखबर, काठमाडौँ – ऐतिहासिक विषयबस्तुमा आधारित फिल्म ‘कीर्तिपुर: द लिजेण्ड अफ कीर्तिलक्ष्मी’ले रिलिज लागि डेट फिक्स गरेको छ । प्रदीप खड्गी निर्देशित फिल्म अब असार १३ मा प्रदर्शन हुने भएको छ ।

तात्कालिन गोर्खाका राजा पृथ्वीनारायण शाहले नेपाल एकिकरणको दौरान अठारौं शताब्दीको पूर्वाद्र्धमा कीर्तिपुरमा गरेको आक्रमणमा फिल्म आधारित रहेको निर्माण पक्षले जानकारी दिएको छ । ५ वर्ष अगाडी नै निर्माण थालनी गरिएको फिल्म साहित्यकार बासु पासाको ‘भैरवसिंह’ नामक उपन्यासमा आधारित छ ।

ऐतिहासिक चलचित्र बनाउने वर्षौंको सपना अब साकार भयो । आफु कीर्तिपुरबासी भएकै नाताले पनि रहस्यको गर्बमा रहेको कीर्तिपुर आक्रमण घटनालाई चलचित्रकरण गर्न सफल भएकोमा उत्साही छु ।’ निर्देशक खड्गीले बताए ।

फिल्ममा हिसिला महर्जन, यशराज गराच, मदनदास श्रेष्ठ, सुशिल राजोपाध्याय, लक्ष्मी गिरी, सूरवीर पण्डित लगायतका कलाकारले अभिनय गरेका छन् ।

कला निर्देशक केके माननधरका अनुसार फिल्ममा पुरानै जीवनशैली, भौतिक संरचना तथा परिवेश सन्तुलित गर्नको लागि निर्माण अवधि लामो हुन गएको हो । त्यसका साथै, ऐतिहासिक फिल्म भएकाले भिएफएक्सको कारण निर्माणमा ढिलाई भएको बताइएको छ । फिल्मको भिएफएक्स सन्तोष केसीले गरेका हुन् ।

विरेन्द्र ताम्राकार कार्यकारी निर्माता रहेको फिल्ममा प्रेम खड्गी र अनन्त श्रेष्ठको पनि लगानी छ । निर्देशक खड्गीका अनुसार केही वर्षअघि नै प्रदर्शन हुने पर्ने यो फिल्मलाई राजनीतिक अस्थिरताका कारण विगतमा गृह मन्त्रालयले प्रदर्शनको अनुमति दिएको थिएन ।

राजा पृथ्वीनारायण शाहको नेपाल एकिकरणका क्रममा भएका घटनाक्रमलाई प्रभावशाली ढंगले चित्रण गरिएको यो फिल्मलाई अहिले आएर गृह मन्त्रालयले पनि प्रदर्शनको अनुमति दिएको निर्देशक खड्गी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्