साउन ३० मा चार विदेशी फिल्म, ‘दयारानी’ले जोखिम मोल्ला ?



रंगखबर, काठमाडौँ – साउन ३० गते जनै पुर्णिमा, ३१ गते गाईजात्रा र ३२ गते शनिबारको विदा । साउनको यो साता फिल्म रिलिजको लागि उत्तम देखिन्छ । त्यस्तै भदौ पहिलो सातामा पर्ने कृष्ण जन्माष्टमीको विदा (शुक्रबार) र शनिबारको विदाले फिल्म निर्मातालाई राम्रै राहत दिने थियो ।

वर्षको महत्वपूर्ण चाडपर्वको विदा खान केहि नेपाली फिल्म तयार थिए । साउन ३० मा त निर्देशक विकाशराज आचार्यको ‘हजार जुनीसम्म’ले रिलिज डेट फाईनल पनि गरिसकेको थियो । यहि मितिमा माओत्से गुरुङ डेब्यु निर्देशन रहेको ‘दयारानी’ पनि थपिन आइपुग्यो ।

तर, विदाको राम्रो अवसरबाट नेपाली फिल्मले हात धुनुपर्यो । कारण, भारतीय ३ ठुला फिल्मको रिलिज ।

यो मितिमा साउथ इण्डियनको बहुप्रतिक्षित फिल्म ‘साहो’ रिलिज हुँदैछ । ‘बाहुबली’ सिरिजबाट नेपाली दर्शकको मन जित्न सफल प्रभासको अभिनय रहेका कारण पनि नेपाली निर्मातामा यो फिल्मले डर उत्पन्न गराईदियो । त्यसैमा फिल्मको जबर्जस्त ट्रेलरले पनि नेपाली दर्शकको ध्यान खिचिरहेको छ ।

साउन ३० को मितिमा अक्षय कुमारको ‘मिसन मंगल’ र जोन अब्राहमको ‘बटला हाउस’ पनि रिलिज हुँदैछन् । पछिल्लो समय यी दुई अभिनेताको बक्सअफिस ग्राफ उकालो लागिरहेको छ ।

भारतीय नै तीन फिल्म रिलिज हुने भए पछि नेपाली फिल्मले सजिलै जुध्ने आत्मविश्वास राख्न सक्दैनन् । ‘हजार जुनीसम्म’ जस्तो प्रतिक्षित फिल्मले डरबाट बच्न १ साता पछाडी रिलिज धकेल्यो । भदौ ६ मा पुगेको फिल्मले अब नम्रता श्रेष्ठको ‘जाइरा’सँग प्रतिस्पर्धा गर्नेछ ।

रिलिजको लागि १ महिना बाँकी रहँदासम्म पनि ‘दयारानी’ले खासै प्रचार-प्रसार नगर्नुले उसको रिलिजमा अन्यौलता अनुमान हुन् लागेको छ ।

यो मितिमा हलिउड फिल्म ‘वन्स अपन अ टाइम इन हलिउड’ले पनि रिलिज लक गरिसकेको छ । अब हेर्न बाँकी छ, साउन ३० मा कति ओटा बिदेशी फिल्म भित्रिने छन् ?

प्रतिक्रिया दिनुहोस्