मनसुनको चपेटामा ‘सानो मन’, ‘वर्ड अफ माउथ’ले पार लाग्ला त फिल्म ?



रंगखबर, काठमाडौँ – देश मनसुनको उच्च विन्दुमा छ । गाउँले भेगमा धान रोपाइँको चटारो छ । भने, शहरी भेगमा मानिसलाई बाहिर निक्लनै गाह्रो भैरहेको छ । यसै बीचमा आयुषमान देशराज जोशी र शिल्पा मास्के स्टारर फिल्म ‘सानो मन’ रिलिज भएको छ ।

हलमा सर्वाधिक कम दर्शक भित्रिने मौसममा रिलिज भएको ‘सानो मन’लाई निक्कै चुनौती छन् । गीत/संगीत र ट्रेलरले फिल्मको हाइप बढाउन उति बिघ्न भूमिका खेलेका छैनन् । तर, दर्शक प्रतिक्रिया राम्रो छ । विहिबार बेलुका राजधानीमा गरिएको प्रिमियरमा समेत फिल्मलाई रुचाइयो ।

सुयोग गुरुङ निर्देशित लभस्टोरी फिल्मलाई अब एउटा कुराको मात्र आशा छ । त्यो हो दर्शक ‘वर्ड अफ माउथ’ । वर्षको सर्वाधिक ग्रसर ‘जात्रै जात्रा’को व्यापारमा माथिको तत्वले महत्वपूर्ण भूमिका खेल्यो । अब हेर्न बाँकी छ, दर्शक प्रतिक्रियाले ‘सानो मन’को आयु कति निर्धारण गर्नेछ ।

कमजोर हुनसक्छ ओपनिङ !

वर्षा र न्यून हाइपको विच रिलिज भएको फिल्मले पहिलो दिनको विहानी शोजमा कमजोर अकुपेन्सी कायम गरेको छ । देशभर ५ देखि १५ को बीचमा रहेको अकुपेन्सीले बक्सअफिस फितलो बनाइदिएको छ ।

‘सानो मन’सँगै रिलिज भएको बलिउड फिल्म ‘सुपर ३०’, सफलताको साथ प्रदर्शन भैरहेका ‘कबिर सिंह’ र ‘स्पाइडर म्यान: फार फ्रम होम’लाई पनि शुक्रबारको बर्षातले असर गरेको छ । तर, पनि अकुपेन्सी केहि माथि छ ।

यो साता भरिनै देशभर हुने वर्षाको विच ‘सानो मन’ले बक्सअफिसमा आफुलाई पार लगाउला त ?

प्रतिक्रिया दिनुहोस्