‘सुनकेसरी’ले भड्काएका दर्शक ‘घर’ हेर्न आउलान ?



रंगखबर, काठमाडौँ – २०७५ सालमा रिलिज भएको हरर फिल्म ‘सुनकेसरी’बाट दर्शक निक्कै आशावादी थिए । ट्रेलरले खासै हाइप सृजना नगरे पनि दर्शक माँझ लामो समय पश्चात हरर फिल्म पुगेको थियो । त्यसैले विकेन्डमा सोचेभन्दा धेरै दर्शक हल छिरे ।

हलिउड र बलिउडका हरर फिल्मबाट मनोरंजन लिइरहेका दर्शकले नेपाली हरर फिक्का लाग्यो । अझ हरर भनिएको फिल्मले दर्शकलाई हसाउँदा निर्देशक अर्पण थापाको काम माथि नै प्रश्न चिन्ह खडा भयो ।

दर्शकको उल्टो ‘वर्ड अफ माउथ’ले फिल्मको व्यापारमा चौथों दिनदेखि नै उल्लेख्य गिरावट आयो । अन्तत: आशा गरिएको ‘सुनकेसरी’ पनि बक्सअफिसमा फ्लप सावित भयो । कमेडी फिल्म चलिरहेको मौसममा नयाँ प्रयोग गरेका निर्देशक थापा नराम्रोसँग चिप्लिए ।

असफलता हात लागेपनि निर्देशक थापाले हरेस खाएनन् । र, दोस्रो वर्षमै अर्को हरर फिल्म लिएर दर्शक माँझ आइपुगेका छन् । उनको निर्देशनमा बनेको दोस्रो हरर फिल्म ‘घर’ साउन ३ गतेदेखि रिलिज हुँदैछ ।

एउटा ‘घर’ भित्रै हुने आत्माहरुको चलखेललाई निर्देशकले पर्दामा उतार्ने जमर्को गरेका छन् । फिल्ममा अभिनयसमेत गरेका थापाले ‘सुनकेसरी’बाट भड्किएका दर्शकलाई हलसम्म तान्न सक्लान ? विश्लेषण सुरु भैसकेको छ ।

प्रचारको रुपमा अहिलेसम्म फिल्मको ट्रेलर मात्र सार्वजनिक भएको छ । उक्त ट्रेलरले ३ लाख नजिक भ्युज बटुलेको छ । सुखद पक्ष यो छ कि, युट्युबमा ट्रेलर हेरेका दर्शकले प्रशंसा गरेका छन् ।

सुरक्षा पन्त र वेनिशा हमालको मुख्य भूमिका रहेको ‘घर’ले सुरुवाती व्यापार औसत गर्ने अनुमान छ । यदि सुल्टो ‘वर्ड अफ माउथ’ भयो भने पक्कै पनि ‘घर’लाई सफलताको भर्याङ चढ्न गाह्रो हुनेछैन ।

प्रतिक्रिया दिनुहोस्