‘कबड्डी ३’ गीत: उपासना पाउन दयाहाङ, कर्मा र विल्सनको नृत्य



रंगखबर, काठमाडौँ – रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी कबड्डी कबड्डी’बाट पहिलो गीत आउट भएको छ । ‘दुबो फुल्यो’ बोल लोकलयमा छ ।

हेमन्त राना र ऋतिका श्रेष्ठको स्वर रहेको गीत मिठो बनेको छ । सार्वजनिक गीतमा उपासना सिंह ठकुरीको लागि दयाहाङ राई, कर्मा शाक्य र विल्सनविक्रम राईको भित्री द्वन्द देखाइएको छ । सम्भवत: फिल्म यहि कथामा घुम्नेछ ।

एसडी योगीको संगीत रहेको गीत हर्क साउदले लेखेका हुन् । भने, भिडियो निर्देशन रेनशा राई राणाले गरेकी छन् । त्यस्तै कलाकारलाई स्टेप्स सिकाउने काम वाइल्ड रिपर्ज ग्रुपले गरेको छ ।

स्वजातिय विवाह र अन्तरजातीय प्रेम सम्वन्धको अन्तरद्वन्दमा आधारित बताइएको फिल्ममा रिश्मा गुरुङ, माओत्से गुरुङ, पुष्कर गुरुङ, कविता आले, बुद्दि तामाङ, लुनिभा तुलाधर, विजय बराल, कमलमणि नेपाल, अरुणा कार्की पोखरेल, राजन खतिवडा, मणि के राई, डि.बि गुरुङ, राजेन्द्र थापाको पनि अभिनय छ ।

भदौ १३ गते रिलिज हुने फिल्मलाई बासुरी फिल्मस र सिनेमा आर्टसँगको सहकार्यमा माउन्टेन स्टोरिज र नौमती इन्टरटेनमेन्टले निर्माण गरेका हुन् । भने, मणिराम पोखरेल, अर्जुन कार्की र ओम चन्द रौनियारले लगानी गरेका छन् ।

डान्स कभर प्रतिस्पर्धा घोषणा

गीत रिलिज गरेसँगै निर्माण पक्षले गीतको डान्स कभर प्रतिस्पर्धा पनि आव्हान गरेको छ । गीतमा कभर भिडियो बनाएर प्रतिस्पर्धा जनाउने मध्येबाट उत्कृष्टलाई आकर्षक उपहार पनि तय गरिएको छ । इच्छुकले कभर भिडियो बनाएर ओएसआर डिजिटलको मेल आइडी [email protected] पठाउनु पर्नेछ ।

विजेताको लागि निर्माण टिमले १ लाख रकम छुट्ट्याएको छ । भने, दोस्रोलाई ७५ हजार र तेस्रोलाई ५१ हजार नगद प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्