‘कबड्डी ३’ भर्सेस ‘छ माया छपक्कै’ वा सेभ साइट ?



रंगखबर, काठमाडौँ – यो वर्षको सुरुवातदेखि नै नेपाली फिल्मको रिलिज डेट विदेशी फिल्मले नराम्रोसँग बिथोलिदिएका छन् । बक्सअफिसमा सफल हुने सम्भावना बोकेका ‘हजार जुनीसम्म’, ‘कबड्डी कबड्डी कबड्डी’, ‘घामट शेरे’, ‘छ माया छपक्कै’ जस्ता फिल्मले विदेशी फिल्मसँगको भिडन्त छल्न ठाउँ छोड्नु पर्यो ।

दक्षिण भारतीय ‘साहो’ र बलिउडको ‘वार’ले नेपाली रिलिज नराम्रोसँग हल्लाईदियो । साउन ३० मा ‘हजार जुनीसम्म’ले रिलिज तोकेर पहिलो गीत आउट गर्यो । यो मितिमा ‘दयारानी’ पनि आउने हल्ला थियो । तर, अब यो फिल्म नआउने पक्का जस्तै छ ।

जस्तै साउन ३० को मितिमा ‘साहो’को रिलिज तोकियो । ‘हजार जुनीसम्म’ भदौ ६ मा पुग्यो । यो मितिमा सिंगल रिलिजको मौका पाएको ‘जाइरा’लाई फसाद पर्यो ।

उता भदौ १३ मा एकल रिलिजको सम्भावना बाकेको ‘मारुनी’सँग ‘कबड्डी कबड्डी कबड्डी’ भिड्न आइपुग्यो ।

घरेलु बक्सअफिसमा ‘मिसन मंगल’, ‘बटला हाउस’ र अन्य दुई दक्षिण भारतीय फिल्मसँगको भिडन्त छल्न ‘साहो’ रिलिज परिवर्तन गरेसँगै त्यसको प्रत्यक्ष असर नेपालमा पर्यो । साउन ३० मा आउने भनिएको ‘साहो’ ‘मारुनी’ र ‘कबड्डी कबड्डी कबड्डी’को डेटमा पुग्यो ।

साउन ३० खालि भएपछि ‘हजार जुनीसम्म’ आफ्नै डेटमा फर्कियो । यसको प्रत्यक्ष फाइदा ‘जाइरा’लाई भयो ।

अहिले रिलिज डेट मिलाउन निर्माता, वितरक र हल व्यवसायी बीच ठुलै राजनीति चलिरहेको छ । असोज ३ मा आउने भनिएको ‘घामट शेरे’ले ‘कबड्डी कबड्डी कबड्डी’लाई ठाउँ छोड्दै पछाडी हटिदिए पछि ‘छ माया छपक्कै’लाई दशैँ रिलिज निल्नु न ओकल्नु भएको छ ।

केहि दिन अगाडी निर्माता रोहित अधिकारीले भदौ २७ लाई ‘छ माया छपक्कै’को आधिकारिक रिलिज डेट घोषणा गरिदिए । तर, शनिबार मात्रै उनले ४ ओटा रिलिज डेट मध्ये एउटा भनेर स्टाटस लेखेका छन् । जसमा भदौ २७ र असोजको ३, १० र १७ छन् ।

यहाँबाट नै थाहा हुन्छ कि, ‘छ माया छपक्कै’लाई रिलिज पाउन कति मुस्किल छ भनेर । रोचक कुरा त के छ भने, ‘छ माया छपक्कै’का कलाकार दीपकराज गिरीले  ‘फेरी न्यूज बन्ने भो अस्तिको आधिकारिक हो कि यो आधिकारिक हो ब्रदर ?
अस्ति पनि आधिकारिक नै लेख्याथ्यो?’ कमेन्ट गरेका छन् ।

केहि मिडियामा भदौ २७ गते आउछौं भनिरहेका दीपकराजले समेत यस्तो कमेन्ट गर्दा मिडिया अलमलमा परेका छन् । बुझिए अनुसार टिमलाई असोज १० मा आउँदा ‘कबड्डी कबड्डी कबड्डी’ र बलिउड फिल्म ‘वार’को चपेटामा पर्ने डर छ । त्यस्तै दशैँमै अड्डी कसिरहेको ‘रातो टिका निधारमा’ले पनि ‘छ माया छपक्कै’लाई स्वत: चपेटामा पार्नेछ ।

त्यसैले भदौ २७ को रिलिज उपयुक्त मानेको ‘छ माया छपक्कै’ले ‘कबड्डी कबड्डी कबड्डी’लाई चुनौती दिन असोज ३ मा आउने सम्भावना पनि देखाएको छ । ‘वार’ र ‘रातो टिका निधारमा’सँगको प्रतिस्पर्धा छल्न असोज ३ मा सिफ्ट हुने जमर्को गरिरहेकै बेला ‘कबड्डी कबड्डी कबड्डी’ उक्त डेटमा इन्ट्री मारेको थियो ।

यदि असोज ३ मा ‘छ माया छपक्कै’ आएमा ‘कबड्डी कबड्डी कबड्डी’सँग रोचक भिडन्त हुनेछ । यी दुवै नेपालकै सबैभन्दा बलियो ब्राण्ड भ्यालु बोकेका फिल्म हुन् । उता भदौ २७ मा ‘छ माया छपक्कै’ पुग्दा ‘पासवर्ड’ चपेटामा पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्