धुर्मुस-सुन्तलीको अभिनयमा कमब्याक, सामाजिक व्यंग्यमा ‘सेन्टी भाइरस’ घोषणा



रंगखबर, काठमाडौँ – चर्चित हाँस्य टेलीसिरियल मेरी बास्सैका लोकप्रिय कलाकार तथा सामाजिक अभियन्ता धुर्मुस-सुन्तलीले अभिनयमा कमब्याक गर्ने भएका छन् । झन्डै ५ वर्षको विश्राम पश्चात यो जोडी फिल्म मार्फत दर्शक माँझ आउदैछ ।

बुधबार राजधानीमा एक कार्यक्रम गरि सुबिहानी फिल्मस प्रालिको व्यानरमा निर्माण हुने फिल्म ‘सेन्टी भाइरस’को बारेमा जनकारी दिइयो । रामबाबु गुरुङले निर्देशन गर्ने फिल्ममा सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को प्रमुख भूमिका रहनेछ ।

कुमार कट्टेल र दीपक आचार्यले लेखेको फिल्ममा दयाहाङ राई, विल्सनविक्रम राई, बुद्दि तामाङ, कमलमणि नेपाल, राजाराम पौडेल, सूर्यमाला खनाल, बसन्त भट्ट, दीपक आचार्यलगायतको पनि अभिनय रहनेछ ।

३५ दिनको सेड्युल लिएर भदौ ३ देखि छायाँकनमा जाने फिल्ममा डिन्डु लामा ह्योल्मोको लगानी रहनेछ । सह-निर्मातामा डिन्डुका भाई फुर्पा लामा रहेका छन् । कास्कीको रुपाकोटमा खिचिने फिल्ममा  राजनराज सिवाकोटी/कालीप्रसाद बाँस्कोटाको संगीत, शैलेन्द्र ध्वज कार्कीको छायाँकन, निमेष श्रेष्ठको सम्पादन र रोहित शाक्यको पार्श्वसंगीत रहनेछ ।

सामाजिक कथाबस्तुमा निर्माण हुने सिनेमाको मुनाफाको २० प्रतिशत रकम सामाजिक कार्यमा सहयोग गरिने कलाकार सिताराम कट्टेलले जानकारी दिए । ‘हामीले सिनेमा निर्माण गर्ने खबर बाहिएरसँगै सामाजिक संजालमा लगानीको बारेमा धेरै टिका-टिप्पणी सुनेका थियौँ । विशेषत: सिनेमामा अमेरिकामा बस्दै आउनु भएका डिन्डु लामा ह्योल्मो र फुर्पा लामाले लगानी गर्दै हुनुहुन्छ । उहाँ हामिसँग सिनेमामा सहकार्य गर्न करिब २ देखि नै प्रतिक्षारत हुनुहुन्थ्यो । त्यसैले हामीले सम्झौतामै २० प्रतिशत मुनाफा सामाजिक कार्यमा खर्चिने हस्ताक्षर गरेका थियौँ ।’

धुर्मुसले अगाडी थपे ‘सामाजिक कार्य अन्तर्गत १५ प्रतिशत रकम गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट मैदानलाई सहयोग गर्नेछौँ । भने, बाँकी ५ प्रतिशत कलाकार संघको भवन निर्माणमा सहयोग हुनेछ ।’

भवन निर्माणको जिम्वेवारी पाउन धुर्मुस-सुन्तली फाउन्डेसनले अपिल गरेको समेत उनले बताए । ‘उहाँहरुले हामिलाई भवन निर्माणको जिम्वेवारी दिनुभयो भने ठिकै छ । भएन भने पनि हामि मुनाफाको ५ प्रतिशत हस्तान्तरण गर्नेछौँ ।’ धुर्मुसले जानकारी गराए ।

करिब ५ वर्ष पछि दर्शकको चाहना बमोजिम हामी कलाकारिता माध्यमबाट दर्शक माँझ पुग्दैछौँ । पूर्णत मनोरंजनको प्याकेज ल्याएर उपस्थित हुनेछौँ ।’ कलाकार कुञ्जनाले बताइन ।

प्रतिक्रिया दिनुहोस्