तीन दिने ‘चलचित्र पत्रकारिता कार्यशाला’ पोखरामा सम्पन्न



रंगखबर, काठमाडौँ – चलचित्र पत्रकार संघ, नेपालले पोखरामा तीन दिने ‘वृहत चलचित्र पत्रकारिता कार्यशाला सफलता पुर्वक सम्पन्न गरेको छ । कार्यशाला नेपाल पर्यटन बोर्ड पोखराको सभाहलमा भदौ १८ देखि २० गतेसम्म चलेको थियो ।

कार्यशालामा पत्रकार आचारसंहिता, डिजिटल/मल्टीमिडिया पत्रकारिता, फिल्म समिक्षा, चलचित्र पत्रकारिता – हिजो र आज, पर्यटन र चलचित्रको अन्तरसम्बन्ध, आत्मसमिक्षा, चलचित्र पत्रकार र चलचित्र बिकास बोर्ड बीचको अन्तरसम्वन्ध विषयक अन्तरक्रिया र प्रशिक्षण भए ।

देशभरबाट ९० बढी जना चलचित्र पत्रकारको उपस्थितिमा सम्पन्न कार्यशालाले पत्रकारको क्षमता वृद्धिमा सकारात्मक संदेश प्रवाह गर्न सफल भएको संघका अध्यक्ष सन्दीप सापकोटाले बताए । कार्यशालामा भएका राम्रा र नराम्रा कुराको बारेमा आफुलाई प्रतिक्रिया दिन उनले आग्रह गरे । जसले आगामी दिनमा अझ उत्कृष्ट तवरबाट पत्रकारको क्षमता वृद्धिमा सघाउ पुर्याउने खालका कार्यशाला र गोष्ठी आयोजना गर्न सहज हुने जानकारी गराए ।

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालको प्रमुख आतिथ्यमा भदौ १८ बाट सुरु भएको कार्यशाला, चलचित्र बिकास बोर्ड अध्यक्ष केशव भट्टराईको प्रमुख आतिथ्यमा भदौ २० मा समापन गरिएको थियो ।

नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामकृष्ण ज्ञवाली, गण्डकी प्रदेश अध्यक्ष त्रिभुवन पौडेल र कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ, फिल्म निर्देशक धनश्याम लामिछाने, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रबन्धक सूर्य थपलिया, चलचित्र पत्रकार संघका कास्की संस्थापक अध्यक्ष श्रीराम सिग्देललगायतका व्यक्तित्वहरुले कार्यशालामा उपस्थिति जनाएका थिए ।

प्रेस काउन्सिलका पुर्व अध्यक्ष राजेन्द्र दाहालको २ घण्टा ३० मिनेट लामो ‘पत्रकारिता आचारसंहिता’ विषयक प्रशिक्षणबाट सुरु भएको कार्यशालामा अन्तर्राष्ट्रिय संचारमाध्यममा कार्यरत रजनीश भण्डारीले २ घण्टा ४५ मिनेट डिजिटल/मल्टीमिडिया पत्रकारिता विषयमा ज्ञान बाँडेका थिए ।

यस्तै फिल्म समिक्षक अनुप सुवेदीले ३ घण्टा लामो नेपाली फिल्म समिक्षाको बारेमा प्रशिक्षण र अन्तरक्रिया सम्पन्न गरेका थिए । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रबन्धक सूर्य थपलियाले ‘पर्यटन र चलचित्र’ विषयमा अन्तरसम्बन्ध र फाइदाहरु केलाएका थिए । पर्यटन फस्टाउन चलचित्र सबैभन्दा प्रभावशाली माध्यम रहेको उनले प्रस्ट्याए ।

नेपाल लाइभका सम्पादक तथा चलचित्र पत्रकार नारायण अमृतले चलचित्रको विगत र वर्तमान अवस्थाको बारेमा २ घण्टा लामो छलफल गरे । चलचित्र पत्रकारितालाई कसरी प्रतिष्ठित बनाउनेबारे उनले प्रशिक्षण दिएका थिए ।

चलचित्र बिकास बोर्ड र चलचित्र पत्रकारको सम्वन्ध, सहयोग आदान-प्रदान सम्वन्धि विषयक छलफलमा संघका अध्यक्ष केशव भट्टराई र पत्रकारहरुको बीचमा डब्बु क्षेत्रीले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए । बोर्डले पत्रकारबाट के-कस्ता सहयोगको अपेक्षा गर्छ र पत्रकारलाई कस्तो सहयोग गर्न सकिन्छ भन्नेबारे अध्यक्ष भट्टराईले प्रष्ट पारेका थिए । उनले बोर्डका आगामी योजनाहरु पनि प्रस्तुत गरेका थिए ।

कार्यशालाको अन्तिम सत्र ‘आत्मसमिक्षा’मा पत्रकार सुशील पौडेलले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए । संघका अध्यक्ष सन्दीप सापकोटाले कार्यशालामा भएका कमजोरीको बारेमा उपस्थित सबैको राय लिएका थिए । र, आगामी दिनमा कमजोरीलाई सच्याएर अगाडी बढ्ने विश्वास व्यक्त गरे ।

चलचित्र पत्रकार संघले पोखरा शाखा र चलचित्र विकास बोर्डको सहकार्यमा सम्पन्न कार्यशालामा पत्रकारलाई पोखरामा केहि स्थानको दृश्य अवलोकन पनि गराइएको थियो ।

करिब २ घण्टासम्म चलेको समापन समारोहमा उपस्थित पत्रकारलाई प्रमाण-पत्र र विशिष्ट व्यक्तित्वहरुलाई मायाको चिनो बाँडिएको थियो । शुक्रबारको रात्रिभोज पश्चात पत्रकारको जम्बो टिम राजधानी र अन्य स्थानमा फर्किसकेको छ ।

तस्विर: ज्ञानु राई 

प्रतिक्रिया दिनुहोस्