सन्नीलाई लिएर ‘एनिमल’ घोषणा, तर चलेन ‘पासवर्ड’



रंगखबर, काठमाडौँ – शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘पासवर्ड’ बलिउड अभिनेत्री सन्नी लिओनीको कारण चर्चामा आयो । फिल्ममा आइटम डान्स मात्र भएपनि सालाखाला प्रचारको लागि सन्नीको नाम बेचियो । तर, तीन दिनको व्यापारमा ‘पासवर्ड’ कमजोर सावित भएको छ ।

फिल्म व्यापारमा मात्र होइन समिक्षात्मक दृष्टिमा नमज्जाले चुकेको छ । फिल्मको व्यापार र समिक्षा आफ्नो ठाउँमा छ । ‘पासवर्ड’मा ठुलो लगानी खर्चिएका निर्माता अमित बस्नेत सन्नीलाई लिएर अर्को फिल्म बनाउने सोचमा अगाडी बढेका छन् ।

शनिबार दर्शक प्रतिक्रिया लिन हल पुगेका निर्माता बस्नेतले नयाँ फिल्म हिन्दी र नेपाली भाषामा निर्माण गरिने सूचना बाँडे । फिल्ममा सन्नीलाई मुख्य कलाकारको रुपमा लिने घोषणा प्रिमियरमै गरिएको थियो ।

सनी रजानीले निर्देशन गर्ने फिल्मको वर्किङ टाइटल ‘एनिमल’ छ । स्क्रिप्टको काम भैरहेको फिल्म हरर जनरामा निर्माण हुनेछ । लण्डनमा ३५ दिने छायाँकन सेड्युल तय गरिएको फिल्मको बाँकी जानकारी सार्वजनिक गरिएको छैन ।

सम्राट बस्नेतको डेब्यु निर्देशन ‘पासवर्ड’मा अनुपविक्रम शाही, विक्रम जोशी, सन्नी लियोनी, बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, लिजा सुनार, परि राना, छुल्ठिम गुरुङ, एभरेस्ट सुर्य बोहरालगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्