धुर्मुस-सुन्तलीको आयोजनालाई ‘कबड्डी ३’को तीन लाख सहयोग



रंगखबर, काठमाडौँ – ‘कबड्डी कबड्डी कबड्डी’ टिमले चितवनको भरतपुरमा निर्माणाधीन ‘गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला’लाई तीन लाख रकम सहयोग गरेको छ । फिल्मका कलाकार दयाहाङ राई, विल्सन विक्रम राई र निर्माता मणिराम पोखरेलले ‘धुर्मुस सुन्तली फाउन्डेसन’का अध्यक्ष सिताराम कट्टेल (धुर्मुस)लाई चेक हस्तान्तरण गरे ।

देशको गौरव आयोजनामा सानो भए पनि सहयोग गर्न पाउँदा खुसी महसुस गरेको दयाहाङ, विल्सन र मणिरामले बताए । साथै, यो आयोजनामा सबैलाई सक्दो सहयोग गरिदिन पनि आग्रह गरे ।

‘कबड्डी ३’को यो सहयोगको लागि सितारामले कृतज्ञता व्यक्त गरे । उनले राष्ट्रिय गौरवको यस अभियानमा सबैलाई साथ र सहयोग गर्न पनि आह्वान गरे । २ वर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको रंगशालाको लागत ३ अर्व भन्दा माथि अनुमान गरिएको छ ।

रामबाबु गुरुङ निर्देशित ‘कबड्डी कबड्डी कबड्डी’ असोज ३ गते रिलिज हुँदैछ । फिल्ममा दयाहाङ र विल्सनसँगै उपासना सिंह ठकुरी, कर्मा शाक्य, बुद्दि तामाङ, माओत्से गुरुङ, रिश्मा गुरुङ, लूनिभा तुलाधर, विजय बराल, कमलमणि नेपाल, अरुणा कार्कीलगायतका कलाकारको अभिनय छ ।

जातिय विवाह र अन्तर्जातिय प्रेम सम्बन्धको अन्तरद्वन्द्व ‘कबड्डी ३’लाई मणिराम पोखरेल, अर्जुन कार्की र ओम चन्द रौनियारले निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्