‘कबड्डी ३’लाई ६७.८७ प्रतिशत शो, वर्षकै ठुलो ओपनिङको संकेत



रंगखबर, काठमाडौँ – शुक्रबारे रिलिजका लागि खोलिएको अग्रिम बुकिङ शो संख्यामा ‘कबड्डी कबड्डी कबड्डी’ले उल्लेख्य स्थान हाँसिल गरेको छ । यो साता नेपाली ‘कबड्डी ३’सँगै बलिउडको ‘द जोया फ्याक्टर’ र हलिउडको ‘र्याम्बो’ रिलिज हुँदैछन् ।

राजधानीबाट संचालित देशका ६ ठुला मल्टीप्लेक्सले यो साताको लागि १ सय ६५ शो निकालेका छन् । जसमामा ‘कबड्डी ३’ले ६७.८७ (११२) प्रतिशत शोज कब्जा गरेको छ । त्यस्तै ३२.१२ प्रतिशत शोजमा विदेशी नयाँ/पुराना फिल्म छन् ।

‘साहो’ रिलिजको समय भन्दा यसपटक मल्टीप्लेक्सले २३ शो बढी निकालेका छन् । त्यसैले प्रतिशतमा ‘कबड्डी ३’को अङ्क सानो देखिन्छ । तर, ११२ शोज ‘साहो’ जतिकै हो । ‘साहो’ले १ सय ४२ शोजमा ८०.२८ प्रतिशत शो कब्जा गरेको थियो ।

प्रतिशतको आधारमा यो साल रिलिज भएका फिल्म मध्ये ‘कबड्डी’को अंक निक्कै ठुलो हो । ‘दाल भात तरकारी’ले ५२.२८, ‘जात्रै जात्रा’ले ३७.५, ‘वीर विक्रम २’ले २४.३० र ‘मारुनी’ले १५.४९ प्रतिशत हिस्सा ओगटेका थिए ।

‘कबड्डी कबड्डी कबड्डी’को रेकर्ड

रामबाबु गुरुङ निर्देशित फिल्मलाई क्युएफएक्स चेनले राजधानीका ५ स्टेशनमा ३८ शो दिएको छ । यो कुनै पनि नेपाली फिल्मलाई दिएको मध्ये सर्वाधिक ठुलो अंक हो । त्यस्तै राजधानी बाहिरका ४ स्टेशनको २७ सहित जम्मा ६५ शोज क्युएफएक्समा छ । ‘साहो’लाई जम्मा ६१ शोज दिइएको थियो ।

यस्तै बिग मुभिजले १२, एफक्युबले ११, बिएसआरले ९, सिडिसीले ८ र क्युज सिनेमाजले ७ शो ‘कबड्डी’को नाममा निर्धारण गरेका छन् ।

अग्रिम बुकिङ उत्कृष्ट

दयाहाङ राई, उपासना सिंह ठकुरी, विल्सन विक्रम राई, कर्मा शाक्य स्टारर फिल्म अग्रिम बुकिङमा पनि उत्कृष्ट देखिएको छ । बुकिङलाई आधार मान्दा फिल्मले वर्षकै ठुलो ओपनिङ गर्नेछ । विहिबारसम्म ५० प्रतिशत भन्दा माथि बुकिङ भैरहेको छ । शुक्रबारसम्म शतप्रतिशत अकुपेन्सी रहने अनुमान गरिएको छ ।

शुक्रबार परेको संविधान दिवसको विदा र शनिबारको सार्वजनिक विदाले फिल्मको कलेक्सन विकेन्डमै २.५० करोड माथि पुग्न सक्छ । फिल्मले करोड आसपासको ओपनिङ गर्ने अनुमान छ ।

बक्सअफिस: ‘साहो’को शोज र बुकिङ बलियो, ‘मारुनी’ दुवैमा कमजोर

 

प्रतिक्रिया दिनुहोस्