प्रिमियरमा ‘कबड्डी ३’लाई यस्तो प्रतिक्रिया



रंगखबर, काठमाडौँ – ‘कबड्डी’ शृंखलाको तेस्रो भाग ‘कबड्डी कबड्डी कबड्डी’को ग्राण्ड प्रिमियर सम्पन्न भएको छ । विहिबार बेलुका राजधानीको जय नेपाल हलमा आयोजित प्रिमियरमा फिल्मकर्मी र पत्रकारको बाक्लो उपस्थिति रह्यो ।

प्रिमियरमा उपस्थित सबैले फिल्मको मुक्तकण्ठाले तारिफ गरेका छन् । ‘कबड्डी’ फ्लेवरमा यसपटक पुन: दर्शक झुम्न सक्ने उपस्थित कलाकर्मीको पूर्वानुमान छ । पत्रकारहरुले भने अघिल्ला दुई शृंखला भन्दा यो अलिक कमजोर बनेको प्रतिक्रिया दिएका छन् । तर, दर्शकलाई दुई घण्टा मज्जाले बाँध्ने क्षमता ‘कबड्डी ३’मा रहेको बताए ।

रामबाबु गुरुङ निर्देशित फिल्ममा दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा शाक्य, विल्सन विक्रम राई, रिश्मा गुरुङ, पुस्कर गुरुङ, कविता आले, माओत्से गुरुङ, लूनिभा तुलाधर, कमलमणि नेपाल, डा: सिंह गुरुङ, शिला खनाल र मणि के राई जस्ता कलाकारको अभिनय छ ।

सिनेमा आर्टको प्रस्तुतिसँग बाँसुरी फिल्मस् र माउन्टेन स्टोरिजले सहकार्य गरेको फिल्ममा मणिराम पोखरेल, अर्जुन कार्की र ओमचन्द रौनियारले लगानी गरेका छन् ।

तस्विर: ज्ञानु राई 

प्रतिक्रिया दिनुहोस्