अस्ट्रेलियाको लागि २५ लाखमा बिक्यो विपिनको ‘सेल्फी किङ’



रंगखबर, काठमाडौँ – वर्षेनी घरेलु बक्सअफिसमा नेपाली फिल्मको व्यापार सन्तोषजनक पनि हुन सकेको छैन । त्यसैले घरमा ९० प्रतिशत फिल्म लगानी उठाउन असफल हुन्छन । अहिले विदेशी प्रदर्शनबाट केहि फिल्मले लगानी सुरक्षित गरिरहेका छन् ।

नेपालमा राम्रो हाइप र चर्चा कमाएका फिल्मले विदेशमा राम्रो प्रदर्शन गर्दै आएका छन् । जसले मेकरलाई केहि राहत प्रदान गर्ने गर्छ । यसै बीच छायाँकनमा रहेको फिल्म ‘सेल्फी किङ’को अस्ट्रेलिया राइट राम्रो रकममा बिक्री भएको छ ।

निर्माण पक्षले दिएको जानकारी अनुसार अस्ट्रेलियाको लागि गोर्खे इन्टरटेनमेण्टले २५ लाख नेपालीमा फिल्म खरिद गरेको हो । यो कम्पनिले गत वर्ष ‘प्रसाद’को विदेशमा सफल प्रदर्शन गरेको थियो ।

यस्तै युरोप, अमेरिका, जापान, कोरिया, साउदी, दुबई, हंङकंङ, मलेसियालगायतका देशबाट पनि फिल्मको राम्रो माग आइरहेको निर्माण पक्षको दावी छ ।

बिशाल सापकोटाको निर्देशनमा बनिरहेको यस ड्रामा प्लस कमेडीमा विपिन कार्की, लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराललगायतका कलाकारको अभिनय छ ।

दिनेश राउत र सुभाष थापाले निर्माण गरेको फिल्ममा अभिनेत्री केकी अधिकारीको अतिथि भूमिका रहने बताइएको छ । फिल्ममा निर्देशक बिशालकै लेखन, सुसन प्रजापतिको छायाँकन, जीवन थापाको सम्पादन र सुवास भुषालको संगीत छ ।

प्रतिक्रिया दिनुहोस्