‘कबड्डी ३’ ब्लकबस्टर क्लबमा प्रवेश, दुई साताको कमाई यति



रंगखबर, काठमाडौँ – असोज ३ गते रिलिज भएको फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ले तेस्रो सातासम्म आफ्नो पकड जमाइरहेको छ । दशैँमा पनि फिल्मप्रति दर्शकको क्रेज घट्ने छाँटकाँट छैन ।

यसै बीच निर्माण पक्षले दुई साताको व्यापारिक रिपोर्ट सार्वजनिक गरेको छ । ११ करोड ३ लाखको अंक छोएको वितरक कम्पनि ‘स्टेशन ५’ले जानकारी दिएको छ । दोस्रो सातामा फिल्मको जम्मा कलेक्सन ३ करोड ६५ लाख रह्यो । पहिलो साताको तुलना यो ५०.५४ प्रतिशत गिरावट हो । पहिलो साता यसले ७ करोड ३८ लाख बटुलेको थियो ।

रामबाबु गुरुङ निर्देशित फिल्मले विकेन्डमा ४ करोड ३२ लाख ग्रस कलेक्सन गरेको थियो । यो व्यापारसँगै ‘कबड्डी ३’ १० करोड (ब्लकबस्टर क्लब)मा पुग्ने छैटौँ फिल्म बनेको छ । यसअघि ‘कोहिनूर’, ‘छक्का पन्जा’, ‘छक्का पन्जा २’, ‘शत्रु गते’ र ‘छक्का पन्जा ३’ले १० करोड माथिको व्यापार गरेका थिए ।

‘कबड्डी ३’मा दयाहाङ राई, उपासना सिंह ठकुरी, रिश्मा गुरुङ, कर्मा, विल्सन विक्रम राई, बुद्धि तामाङ, विजय बराल, पुस्कर गुरुङ, कविता आले, माओत्से गुरुङ, लूनिभा तुलाधर, कमलमणि नेपाललगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्