‘छ माया छपक्कै’ जनमुखी फिल्म हो, यसमा उद्यमी धेरै – दीपेन्द्र लामा



रंगखबर, काठमाडौँ – पत्रिकामा लामो लेखनको अनुभव सँगालेका समिक्षक तथा पत्रकार दीपेन्द्र लामा निर्देशित तेस्रो फिल्म ‘छ माया छपक्कै’ असोज २४ मा रिलिज हुँदैछ । मिडिया लेखनमा स्थापित भैसकेको नाम अहिले निर्देशनमा जम्दैछ ।

‘घामपानी ‘ र ‘गोपी’ जस्ता फिल्म निर्देशन गरिसकेका लामालाई रंगखबरले ‘टेक योर पिक’मा आधारित रहेर केहि प्रश्न सोधेको थियो । उनको जवाफ, जस्ताको त्यस्तै…

दयाहाङ राई वा विपिन कार्की ?

दयाहाङ राई रोज्छु । अभिनयमा त दुवै जना खतरनाक नै हो । तर, व्यवहारिक र समझदारीमा दयाहाङ अलिक अगाडी देखिनु हुन्छ ।

घामपानी, गोपी र छ माया छपक्कै ?

छ माया छपक्कै:- यसको क्यानभास ठुलो छ । बजेट पनि ठुलो छ । धेरै ठुलो  संयुक्त उद्यम पनि हो । अनि जनमुखी फिल्म हो ।

‘छ माया छपक्कै’को आड ब्राण्ड हो की कन्टेन्ट ?

ब्राण्ड पनि आड हो । तर, यसको कन्टेन्ट झन बलियो छ । कन्टेन्टले ‘छ माया छपक्कै’लाई लामो समय आड दिनेछ ।

‘छ माया छपक्कै’लाई समिक्षात्मक अंक वा बक्सअफिस अंक ?

समिक्षा नै राम्रो होस् भन्ने चाहना छ । किनकी, पछिसम्म फिल्मलाई हेरिरहन मद्दत गर्ने राम्रो समिक्षाले हो ? कसैले पनि यो फिल्मले यति धेरै कमाएको थियो भनेर फिल्म हेर्नुहुन्न ।

फिल्म निर्देशक वा समिक्षक ?

अब, फिल्म निर्देशक नै बन्ने हो । धेरै समिक्षा गर्दा संतृप्त भए । सिकाईको शिलशिलामा निर्देशन मेरो अर्को खुड्किलो हो ।

अन्तर्वार्ता लिन वा अन्तर्वार्ता दिन ?

अब चै दिने मात्र हो । सायद मिडिया लेखनमा संतृप्त भएर होला आजभोली समाचार, लेख, समिक्षा, अन्तर्वार्ता लेख्न मन लाग्दैन । बरु अन्तर्वार्ता दिन राम्रो लाग्छ ।

निर्मातामा श्रीधर पौडेल वा दीपक-दीपा ?

दीपक-दीपा रचनात्मक कार्यमा सहयोग गर्नुहुन्छ । पैसा हालेर घरमा सुत्ने भन्दा त, मैदानमा पुगेर सहयोग गर्ने निर्माता नै राम्रो । तैपनि श्रीधर पब्लिसिटीमा धेरै सहयोगी निर्माता हुन् ।

छापा माध्यम वा अनलाइन माध्यम ?

संसारको जुनसुकै कुनाबाट पनि सुचना र मनोरंजन लिन सकिने भएकाले अनलाइन माध्यम नै राम्रो । अझ यसमा एकैपटकमा धरै सुचनाको साझेदारी गर्न सकिन्छ ।

केकी वा केकीको काम ?

केकी अझै व्यवहारमा कच्चै लाग्छिन । तर, काममा बलियो छिन । उनको काम नै उत्तम हो ।

लेखनमा ‘लाटाको देशमा गाँडो तन्नेरी’ जस्तो म – प्रदीप भट्टराई

प्रतिक्रिया दिनुहोस्