फिल्म हेर्न नेपालगंज आउँछन भारतीय



भारतीय बजार रुपैडियामा दशैँको किनमेल गर्न गएका नेपालीको भीड थामिनसक्नु थिएन।

नेपालगञ्जको बजार फस्टाउन नसकेका बेला रुपैडिया भने मालामाल हुनु सामान्यजस्तै बनिसकेको छ। हरेक सामान किन्न नेपाली रुपैडिया नै पुग्छन्। तर रुपैडियालगायत सीमावर्ती ठाउँमा भारतीय नागरिकका लागि नेपालगञ्ज सिनेमा हेर्ने गन्तब्य बनेको छ।

भारतीय नागरिककै कारण नेपालगञ्जमा हलको व्यापार अझ फस्टाएको छ। सीमावर्ती भारतीय बजार र गाउँका भारतीय नागरिक सिनेमा हेर्न नेपालगञ्ज आउने गरेका छन्।

क्युएफएक्स बागेश्वरी सिनेमाज सञ्चालनमा आएपछि सीमावर्ती बजार रुपैडिया, नानपारा मात्र होइन, बहराइजसम्मबाट भारतीय नागरिक नेपालगञ्जमा आउने गरेका छन्।

‘हाम्रोतिर क्युएफएक्स हल छैन। नजिक भनेको नेपालगञ्ज हो, त्यही भएर हिन्दी सिनेमा लागेका बेला नेपालगञ्ज पुग्छौं,’ क्युएफएक्स बागेश्वरीमा सिनेमा हेर्न आइरहने रुपैडियाका व्यापारी सुशील रावले भने।

रुपैडियाबाट नजिक लखनऊमा सुविधासम्पन्न हल छन्। त्यहाँ जान समय लाग्ने भएकाले भारतीय नागरिक सिनेमा हेर्न नेपालगञ्ज आउने गरेका छन्।

नेपालगञ्जमा अहिले क्युएफएक्स बागेश्वरी मात्र सञ्चालनमा छ। लक्ष्मी हलले स्तरोन्नति गरिरहेको छ, श्रृष्टि हल भत्काएपछि बन्द भइसक्यो।

स्नेह होटल छेउमा सुविधासम्पन्न नयाँ हल बन्दैछ। पर्यटन वर्षसँगै उक्त हल सञ्चालन हुने अपेक्षा गरिएको छ। यी हलले भारतीय नागरिकलाई तान्ने अपेक्षा गरिएको छ।

क्युएफएक्स बागेश्वरी सिनेमाज नेपालगञ्जका प्रबन्धक नीरजमान शाक्यले भारतीय नागरिकहरु सिनेमा हेर्न आउने गरेको बताए।

‘हिन्दी सिनेमा चलेका बेला अधिकांश भारतीय नागरिक नै हाम्रा ग्राहक हुन्’, उनले भने।

अहिले नेपालगञ्जमा भारतीय नागरिकलाई लक्षित गरी फनपार्क बनाउने काम धमाधम भइरहेको छ।

रासस-

प्रतिक्रिया दिनुहोस्