‘घामड शेरे’ शुक्रबारको रिलिज स्थगित, दुई साता पछाडी धकेलियो फिल्म



रंगखबर, काठमाडौँ – ‘घामड शेरे’ कुरेर बसेका दर्शकका लागी दुखद खबर छ । निश्चल बस्नेत र स्वस्तिमा खड्का स्टारर फिल्मको रिलिज दुई साता पछाडी धकेलिएको छ । मल्टीप्लेक्समा कम शोज पाएपछि रिलिजको दुई दिन अगाडी निर्माण पक्षले प्रदर्शन स्थगित गरेको हो ।

अब फिल्म कार्तिक २२ मा रिलिज हुनेछ । बुधबार देशकै ठुलो मल्टीप्लेक्स च्यानल क्युएफएक्सले अत्याधिक कम शोज बाँडेपछि फिल्म नयाँ मितिमा पुगेको हो । उसले ‘घामड शेरे’लाई जम्मा ११ शोज दिएको थियो । प्रतिक्षित फिल्मको हकमा यो शोज एकदमै न्यून हो । उता बलिउड फिल्म ‘हाउसफुल ४’लाई ४४ शोज दिइएको थियो ।

‘घामड शेरे’ले हात धुँदा अन्य फिल्मलाई प्रत्यक्ष फाइदा पुगेको छ । अब, यो साता नेपाली ‘पोइ पर्यो काले’ र बलिउडबाट ‘हाउसफुल ४’सँगै ‘मेड इन चाइना’ले नेपाली बक्सअफिसमा डेब्यु गर्नेछन् ।

हेमराज बिसी निर्देशित फिल्ममा निश्चल बस्नेत, स्वस्तिमा खड्का, सुष्मा निरौला, बादल भट्ट, लोकेन्द्र लेखक, रोय, सरोज अर्याललगायतका कलाकारको अभिनय छ ।

 

प्रतिक्रिया दिनुहोस्