सुशील र आमिरको कार्टून रुप



रंगखबर, काठमाडौँ – कार्तिक १५ मा रिलिज हुने फिल्म ‘बादशाह जुट’को ट्रेलरलाई मुस्लिम समुदायले बहिस्कार गर्दा निर्माण टिम तनाव झेल्नुपर्यो । मुस्लिम संघसँगको वार्ता पछि सम्पादित ट्रेलर युट्युबमा सार्वजनिक भैसकेको छ ।

रिलिज अगाडीको तनाव भुल्दै निर्माण पक्ष पुन: प्रचारमा उत्रिएको छ । बिहिबार फिल्मको नयाँ पोस्टर रिलिज गरिएको छ । मुख्य कलाकार सुशील श्रेष्ठ र आमिर गौतम चित्रित पोस्टर कार्टूनमा निकालिएको छ । टौवा क्रियसनले तयार गरेको पोस्टरमा सुशिल र आमिरको कमेडी रुप देख्न सकिन्छ ।

जोनी सिंह राणा निर्देशित फिल्मले आफुलाई बादशाह ठान्ने दुई युवाको कथा प्रस्तुत गर्नेछ । फिल्ममा केइसा रावत, रोषी खड्का, रोविन तामाङ, रश्मी पाण्डे, दीपक क्षेत्री, कमलमणि नेपाललगायतका कलाकारको पनि अभिनय छ ।

फिल्ममा अभिषेक शशि कुमारको पटकथा, राजु कार्कीको छायाँकन, राजकुमार उप्रेतीको एक्सन, दिर्घ खड्काको सम्पादन र कृष्ण भारद्वाज/कोसिस क्षेत्री/मोहित मुनालको संगीत छ ।

हर्क बहादुर कुँवर (पिटर) र भोजराज श्रेष्ठ (मिक्की)को सहकार्यमा फिल्म निर्माण भएको छ । एच एण्ड बी फिल्मस् र गोल्डेन ग्रेप्स फिल्मस् एण्ड इन्टरटेनमेन्ट फिल्मसँग संलग्न व्यानर हुन् ।

प्रतिक्रिया दिनुहोस्