रंगखबर, काठमाडौँ – वर्षको ब्लकबस्टर फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ले हलमा ५१ दिने प्रदर्शन पुरा गरेको छ । राजधानीका बिग मुभिज, एफक्युब, गोपीकृष्ण, गुण र अष्टनारायण हलमा फिल्मले यो सफलता हाँसिल गरेको हो ।
असोज ३ गते रिलिज भएको फिल्मले अहिलेसम्म १४ करोड ग्रस गरिसकेको वितरक कम्पनि स्टेशन फाइभले बताएको छ । फिल्मले सुरुवाती दिनमा रेकर्डमय व्यापार गरेको थियो ।
‘कबड्डी ३’ यो वर्षकै सर्वाधिक व्यापार गर्ने फिल्म हो । भने, ५१ दिन पार गर्ने दोस्रो फिल्म । प्रदीप भट्टराई निर्देशित ‘जात्रै जात्रा’ले पनि ५१ दिने प्रदर्शन पुरा गरेको थियो ।
फिल्ममा दयाहाङ राई, उपासना सिंह ठकुरी, रिष्मा गुरुङ, कर्मा, विल्सनविक्रम राई, बुद्दि तामाङ, विजय बराल, पुस्कर गुरुङ, कविता आले, माओत्से गुरुङ, लूनिभा तुलाधर, कमलमणि नेपाल, अरुणा कार्की पोखरेल, डाक्टर सिंह गुरुङ, शिला खनाल, मणि के राईलगायतका कलाकारको अभिनय छ ।
मणिराम पोखरेल, अर्जुन कार्की, ओमचन्द रौनियार र रुदेन सदा लेप्चा मिलेर फिल्म निर्माण गरेका हुन् ।





