रंगखबर, काठमाडौँ – सम्पूर्ण छायाँकन सकिएको घोषणा गर्दै फिल्म ‘लभ डायरिज’ युनिटले रिलिज मिति तय गरेको छ । यसअघि दुई पटक सारिएको फिल्म अब भने फागुन २ मा रिलिज हुने निर्माण पक्षले दावी गरेको छ ।
प्रेमकथानक फिल्मको लागी प्रणय दिवस रिलिजको लागी उत्तम हुने भन्दै फागुन २ लाई छनोट गरिएको हो । छायाँकनको अन्तिममा फिल्मको प्रमोसनल गीत खिचिएको छ ।
मुख्य कलाकार सुशील श्रेष्ठ, रुबिना थापा र विश्वजित रिमालसँगै गीतमा ट्वीन्स गर्ल प्रिन्सी/प्रिज्मा र बालगायिका फिचर्ड गरिएको गीतमा अर्जुन पोखरेलको शब्द, संगीत छ ।
‘छम छम छम…’ बोलको गीतमा दुर्गा खरेल, सुरेश लामा र कमला घिमिरेले स्वर भरेका छन् । प्रविण सिंहले कोरियोग्राफी भरेको गीतले फिल्मको हाइप निर्माणमा सघाउ पुर्याउने निर्माण पक्षको आशा छ ।
सौरभ चौधरी निर्देशित फिल्ममा मधु बास्तोलाको कथा/पटकथा, संजय लामाको छायाँकन र मिलन श्रेष्ठको सम्पादन छ । विनोद सापकोटा निर्माता रहेको फिल्ममा सरोज तुलाधरको सह-निर्माण छ ।