‘सेल्फी किङ’ फस्टलुक, ‘जोकर’ जस्तो विपिनको अवतार



रंगखबर, काठमाडौँ – विपिन कार्की अभिनित फिल्म ‘सेल्फी किङ’को फस्टलुक पोस्टरसँगै रिलिज डेट सार्वजनिक गरिएको छ । माघ २४ गते रिलिज हुने फिल्मको पोस्टरमा विपिन चित्रित छन् ।

झट्ट हेर्दा हलिउडको ब्लकबस्टर फिल्म ‘जोकर’ जस्तो लाग्ने पोस्टरमा विपिनको लूक्स आकर्षक छ । ड्रामेडी (ड्रामा प्लस कमेडी) जनराको फिल्मको कथा विपिन वरिपरी घुम्छ ।

‘सेल्फी किंङ’को नामले परिचित एक चर्चित हाँस्य कलाकार(टेलिभिजन)ले कला यात्राको दौरान आफुले पाएको सफलता र व्यक्तिगत जीवन बिचको सन्तुलन मिलाउन गर्ने संघर्षको कथाको फिल्मले प्रस्तुत गरेको छ । फिल्मको निर्देशन विशाल सापकोटाले गरेका हुन् । उनको यो डेब्यु निर्देशन हो ।

सुभाष थापा र निर्देशक दिनेश राउतले निर्माण गरेको फिल्ममा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराललगायतका कलाकारको पनि अभिनय छ ।

विपिनको दोस्रो फिल्म

भर्सटायल अभिनेताको रुपमा परिचित विपिनको ‘सेल्फी किङ’, यो वर्ष रिलिज हुने उनको दोस्रो फिल्म हो । गत जेठमा रिलिज विपिन स्टारर ‘जात्रै जात्रा’ बक्सअफिसमा सुपरहिट सावित भएको थियो ।

यो फिल्मलाई विपिनले आफ्नो करिअरकै उत्कृष्ट भनेका छन् । अब हेर्न बाँकी छ, विपिनको करिअरमा ‘सेल्फी किङ’ले कस्तो अर्थ राख्नेछ ।

प्रतिक्रिया दिनुहोस्