सोचे अनुरुप भएन ‘पंगा’ र ‘स्ट्रिट डान्सर’को ओपनिङ



रंगखबर, काठमाडौँ – शुक्रबारदेखि प्रदर्शनमा आएका दुई बलिउड फिल्म स्ट्रीट डान्सरपंगाले बक्सअफिसमा सोचेजस्तो ओपनिङ गर्न चुकेका छन् । तर, पहिलो दिनको व्यापार सन्तोषजनक मानिएको छ ।

कंगना रनाउत स्टारर पंगाको रिलिज पहिले हाइप राम्रो थियो । त्यसैमा समिक्षात्मक रुपमा पनि फिल्म सफल मानियो । तर, पहिलो दिनको व्यापार सोचे अनुरुप भएन ।

फिल्मले ३ देखि ५ करोडसम्मको बीचमा ओपनिङ गर्ने अनुमान गरिएको थियो । घरेलु बक्सअफिसमा जम्मा २.७० करोड मात्र कमाउन सक्यो । राम्रो ‘वर्ड अफ माउथ’को कारण फिल्मले विकेन्डसम्म केहि छलाङ मार्न सक्ने संकेत देखाएको छ ।

यस्तै वरुण धवन र श्रद्धा कपूर स्टारर स्ट्रिट डान्सरले १५ देखि १८ करोड आसपास कमाउने अनुमान थियो । तर, पहिलो दिनको कलेक्सन १०.२६ करोड मात्र पुग्यो । करिब पाँच वर्ष अगाडी रिलिज भएको प्रिक्वेल एनी बडी क्यान डान्स २ले १४.३० करोडको ओपनिङ गरेको थियो ।

स्ट्रिट डान्सरलाई पनि समिक्षकले राम्रो भनेका छन् । त्यसैले आगामी दिनमा यसको व्यापार पनि उकालो लाग्ने अनुमान गरिएको छ ।

अजय र सैफको तान्हाजी  २ सय करोड क्लबमा 

यस्तै तेस्रो साताको पहिलो दिन अजय देवगण र सैफअलि खान स्टारर तान्हाजी: द अनसुङ्ग वारियरले २ सय करोडको आँकडा पार गरेको छ । फिल्मले तेस्रो शुक्रबार ५.३८ करोडको व्यापार गर्दै जम्मा कलेक्सन २०२.८३ करोड पुर्यायो ।

अजयको करिअरमा २ सय करोड कमाउने यो दोस्रो फिल्म हो । यसअघि गोलमाल अगेनले २ सय करोड माथिको व्यापार गरेको थियो । यस्तै सैफले तान्हाजी मार्फत पहिलो पटक २ सय करोड क्लबमा इन्ट्री मारेका छन् ।

यसअघि उनको रेस २ एक मात्र सय करोड कमाउने फिल्म थियो ।

प्रतिक्रिया दिनुहोस्