अहिलेसम्मकै महँगो रकममा विक्री भयो ‘सेन्टी भाइरस’को विदेश राइट



धुर्मुस-सुन्तलीले निर्माण गरेको फिल्म ‘सेन्टी भाइरस’को विदेश राइट सर्वाधिक महँगो रकममा विक्री भएको छ । अमेरिकाको नेप्सिने कम्पनिले विदेश राइट १ करोड १५ लाखमा खरिद गरेको हो ।

सोमबार नेप्सिनेका प्रमुख विधान कार्की र फिल्म निर्माण कम्पनि सुविहानी फिल्मस्का सिताराम कट्टेल (धुर्मुस) बीच सम्झौता भएको हो ।

रामबाबु गुरुङले निर्देशन गरेको फिल्मको मुनाफाको ५० प्रतिशत रकम जनस्तरबाट निर्माण भैरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सहयोग गरिनेछ ।

ट्रेलर रिलिज पश्चात फिल्मको हाइप चुलिएको छ । त्यसैले घरेलु बक्सअफिसमा पनि राम्रो व्यापार गर्ने अनुमान छ । फिल्म महाशिवरात्रीको अवसर पारेर फागुन ९ देखि अलनेपाल रिलिज हुँदैछ ।

कुमार कट्टेल र दीपक आचार्यको लेखन रहेको फिल्ममा सितारामसँगै दयाहाङ राई, कुञ्जना घिमिरे (सुन्तली), विल्सनविक्रम राई, राजराम पौडेल, बसन्त भट्ट, कमलमणि नेपाल, सन्दीप क्षेत्रीलगायतका कलाकारको अभिनय छ ।

सुबिहानी फिल्मस् प्रालिको व्यानरमा निर्माण भएको फिल्मका लगानीकर्ता डिन्डू लामा ह्याल्मो हुन् । उनलाई लगानीमा फुर्पा ह्याल्मोले सघाएका छन् ।

प्रतिक्रिया दिनुहोस्