विराजको कमब्याकले हल फर्कायो दर्शक !



रंगखबर, काठमाडौँ – तिहारसम्म राम्रो रहेको नेपाली बक्सअफिस त्यसयता सुस्तायो । हलमा दर्शक मात्र होइनन्, नेपाली फिल्मको उपस्थिति पनि शुन्य नै रह्यो । माघ यता बक्सअफिसमा नेपाली फिल्म रिलिज भएपनि दर्शक हलसम्म फर्किएका थिएनन् ।

अन्तत: शुक्रबारदेखि प्रदर्शनमा आएको विराज भट्टको ‘साङ्लो’ले हलमा दर्शकको रौनकता ल्याएको छ । मिडियाका हेडलाइनमा पनि ‘दर्शक’ छाएका छन् ।

शुक्रबार बक्सअफिसमा मध्यम सुरुवात गरेको ‘साङ्लो’मा शनिबार सिंगल स्टेशनमा दर्शक भरिभराउ भए । पहिलो दिन देशभर सिनेमाले ५५ प्रतिशत अकुपेन्सी कायम गर्यो ।

वितरक गोपालकाजी कायस्थले ‘साङ्लो’ रिलिजसँगै विहानी शोजमा पनि दर्शकको फर्किएको दावी गरे । ‘तिहारपछि सिनेमा नचल्दा देशमा कयौँ हलका विहानी शोज कटौती भएका थिए । ‘साङ्लो’ रिलिज भएसँगै हलमा विहानदेखि बेलुकासम्म दर्शकको लाइन लागेको छ ।’ वितरक कायस्थले खुसि व्यक्त गरे ।

शनिबार मल्टीप्लेक्स तर्फ ५० प्रतिशत अकुपेन्सी रहेपनि सिंगल स्टेशनमा विहानदेखि नै शोज आक्रामक रहे । ८० प्रतिशत अकुपेन्सीबाट सुरु भएको व्यापार दिउँसोमा सबैतिर हाउसफुल रह्यो ।

विशेष गरि राजधानीका गोपीकृष्ण, गुण सिनेमाज, अष्टनारायण, पोखरा र धनगढी, नारायणगढलगायतका स्थानमा दर्शकको चाप उल्लेख्य रह्यो ।

यस्तै शनिबार हल रिपोर्ट बुझ्न राजधानीका हल धाएका कलाकार विराज भट्टले दर्शकको मायामा आभार प्रकट गरे । ‘मलाई यस स्थानसम्म दर्शकले ल्याउनु भएको हो । र, लामो समयपछि दर्शक माँझ आउँदा यतिको स्वागत होला भन्ने सोचेको थिएन । मायाको लागि धन्यवाद ।’ विराजले भने ।

सिंगल स्क्रिनमा देखिएको दर्शकको भिडले विराजको स्टारडम पावर देखाएको छ । विराज हल पुग्दा दर्शकले ठुलो हुटिङ गरेका थिए । उनिसँग सेल्फी खिच्न दर्शकको भिड थामिनसक्नु थियो । दर्शकसँग साक्षात्कार गर्ने क्रममा उनले सिनेमाको डाइलग र गीत सुनाए ।

विराज आफैले निर्माण, निर्देशन र अभिनय गरेको फिल्मको एक्सन पाटो सर्वाधिक रुचाइएको छ । फिल्ममा विराजसँगै निकिता चाण्डक, जयनन्द लामा, कामेश्वर चौरसिया, प्रकाश शाह, आरपी पन्त, लय संग्रौला, अमित गिरी, शिशिर भण्डारी, रमेश सोडारी, भिष्म जोशी लगायतका कलाकारले अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्