आमासँग हल जाउँ, सित्तैमा ‘आमा’ हेरौँ



रंगखबर, काठमाडौँ – मिथिला शर्मा र सुरक्षा पन्त स्टारर फिल्म ‘आमा’ भोलीदेखि अलनेपाल प्रदर्शनमा आउँदैछ । दीपेन्द्र के खनाल निर्देशित फिल्मले राम्रो व्यापार गर्ने अनुमान छ । मल्टीप्लेक्समा देखिएको अग्रिम बुकिङले पनि यस कुराको पुष्टि गर्छ ।

रिलिजको मुखमा निर्माण पक्षले दर्शकका लागि एउटा अफर घोषणा गरेको छ । ‘एक दिन आफ्नी आमासँग’ भन्ने नारासहित अफरमा दर्शकले आफ्नो आमासँग फिल्म हेर्न जाँदा निशुल्क टिकट पाउनेछन् ।

काठमाडौँको जयनेपाल हलमा ११.४५, क्युज सिनेमाजमा १०.४५ र कुमारी हलमा ८.३० बजेको बिहानी शोमा दर्शकले यो सुबिधा पाउनेछन । निर्माण पक्षले यी हलमा निर्धारित शो कटौती नहुँदासम्म सुबिधा दिइरहने बताइएको छ ।

अफरबारे निर्देशक खनाल भन्छन –‘एक दिन आफ्नी आमासँग’ भन्ने भावका साथ हामीले यो घोषणा गरेका हौं ।’ हलमा यी शोहरु परिवर्तन नभएसम्मलाई यो घोषणा लागू हुने उनको तर्क छ ।

फिल्ममा मिथिला शर्मा, सुरक्षा पन्त, सरिता गिरी, देशभक्त खनाल लगायतका कलाकारको मुख्य भूमिका छ । शर्मिला पाण्डेले फिल्म निर्माण गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्