रिलिज अगावै ‘प्रेमगीत ३’को ८१ लाख सुरक्षित



रंगखबर, काठमाडौँ – वर्षकै बहुप्रतिक्षित फिल्म ‘प्रेमगीत ३’को विदेशमा माग चर्को छ । र लगातार विदेशका बिभिन्न देशका लागि राइट्स पनि विक्री भैरहेको छ ।

साता अगाडी मात्र फिल्मको अमेरिका, क्यानडा र मेक्सिको राइट्स ५१ लाखमा विक्री भएको थियो । बुधबार युरोपका ८ देशमा यसको राइट्स विक्री भएको छ ।

इनास चलचित्र प्रवर्धन समिति ग्लोबल संयोजक मनिष श्रेष्ठ र इनास युरोपको को-अर्डीनेटर सन्त कुमार थापा मगरले युरोप राइट्स २४ हजार ५ सय युरो (३० लाख नेपाली)मा खरिद गरेका हुन् । निर्माता सन्तोष सेन र खरिद कम्पनि बीच ८ देशका लागि सम्झौता भएको हो । तर, कुन-कुन देश उल्लेख गरिएको छैन ।

यो सँगै ‘प्रेमगीत ३’ले रिलिज अगावै ८१ लाख लगानी सुरक्षित गरेको छ । फिल्मले बक्सअफिसमा बम्पर व्यापार गर्ने अनुमान छ ।

छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेको फिल्ममा प्रदीप खड्का, कृष्टिना गुरुङ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेतलगायतका कलाकारको अभिनय छ ।

छेतेन गुरुङ र मन्दीप गौतमको लेखन रहेको फिल्म नेपाली नयाँ वर्षको अवसर पारेर चैत २८ मा रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्