शो काउन्ट: ‘सेन्टी भाइरस’लाई ३७.४४ प्रतिशत, ‘आमा’लाई कति ?



रंगखबर, काठमाडौँ – भोली शुक्रबारदेखि रिलिज हुने पाँच फ्रेस फिल्मको लागि मल्टीप्लेक्सले अग्रिम बुकिङ खुल्ला गरेका छन् । राजधानीबाट संचालन हुने ठूला मल्टीप्लेक्सले यो साता २ सय २७ शो निकालेका छन् ।

जसमा नेपाली फिल्म ‘सेन्टी भाइरस’ र ‘आमा’ले ६०.७९ प्रतिशत शो कब्जा गरेका छन् । भने, बाँकी ३९.२१ प्रतिशत शो विदेशी फिल्मले पाएका छन् । यो साता बलिउडको ‘शुभ मंगल ज्यादा सावधान’ र ‘भुत’सँगै हलिउडको ‘द कल अफ द वाइल्ड’ पनि नेपाली बक्सअफिसमा रिलिज हुँदैछन् । हेरौँ कुन फिल्मले कति शो पाए ?

‘सेन्टी भाइरस’लाई ३७.४४ प्रतिशत हिस्सा

धुर्मुस-सुन्तलीले गौतम बुद्ध इन्टरनेशनल क्रिकेट रंगशाला सहयोगका निमित्त निर्माण गरेको ‘सेन्टी भाइरस’लाई मल्टीप्लेक्सले सर्वाधिक शो बाँडेका छन् । ३७.४४ प्रतिशत हिस्सा ओगटेको फिल्मलाई क्युएफएक्सले मात्रै ५० शो निर्धारण गरेको छ ।

यस्तै आइएनआइले ७, सिडिसीले ६, बिग मुभिज/एफक्युबले ५/५ र  बिएसआर/क्युज/वान सिनेमाजले समान ४/४ शोज छुट्याएका छन् ।

रामबाबु गुरुङले निर्देशन गरेको फिल्मबाट नाफाको ५० प्रतिशत रकम रंगशाला निर्माणमा खर्च गरिनेछ । फिल्ममा दयाहाङ राई, सिताराम कट्टेल, कुञ्जना घिमिरे, विल्सनविक्रम राई, सन्दीप क्षेत्री, बुद्दि तामाङलगायतका कलाकारको अभिनय छ ।

‘आमा’लाई २३.३४ प्रतिशत शो

दीपेन्द्र के खनाल निर्देशित ‘आमा’ले मल्टीप्लेक्समा २३.३४ प्रतिशत शो पाएको छ । मिथिला शर्मा र सुरक्षा पन्त स्टारर फिल्मलाई क्युएफएक्सले २४ शोज दिएको छ । भने, आइएनआइले ७, बिग मुभिज/एफक्युब/क्युज/सिडिसीले ४/४ र बिएसआर/वान सिनेमाजले ३/३ शो छुट्टयाएका छन् ।

‘आमा’को अग्रिम बुकिङ हेर्दा बक्सअफिसमा सुखद सुरुवात गर्ने सङ्केत देखिएको छ । बिहिबारसम्म ‘सेन्टी भाइरस’ भन्दा ‘आमा’कै बुकिङ अगाडी छ ।

३९.२१ प्रतिशत हिस्सामा विदेशी फिल्म

आयुषमान खुरना स्टारर ‘शुभ मंगल ज्यादा सावधान’ले १६.६०, विक्की कौसल स्टारर ‘भुत’ले ७.९४, हलिउडको ‘द कल अफ द वाइल्ड’ले ७.९२ र अघिल्लो साता रिलिज लभ आजकल’ले १.३२ प्रतिशत शोज कब्जा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्