बक्सअफिस: ‘सेन्टी भाइरस’ र ‘आमा’ दुई दिनमा ४ करोड नजिक



रंगखबर, काठमाडौँ – महाशिवरात्रीको अवसर पारेर शुक्रबार रिलिज भएका दुई फिल्म ‘सेन्टी भाइरस’ र ‘आमा’ले बक्सअफिसमा आक्रामक सुरुवात गरेका छन् । तिहार पछाडी सुस्ताएको बक्सअफिसमा दुई फिल्मले प्राण भर्न सफल भए ।

वितरकले दिएको जानकारी अनुसार दुई दिनमा सिनेमाले ३ करोड ७७ लाखको कारोबार गरेका छन् । जुन निक्कै राम्रो हो । तुलनात्मक रुपमा कम शो पाएको ‘आमा’ बक्सअफिसमा बलियो देखिएको छ । आइतबार राम्रो होल्ड गर्न सके दुवै फिल्मको कलेक्सनले विकेन्डमा ५ करोडको आँकडा छुन सक्छ ।

धुर्मुस-सुन्तलीले निर्माण गरेको ‘सेन्टी भाइरस’ले पहिलो दिन १.१२ करोड ग्रस बटुल्दा ‘आमा’ले ५७ लाखको ओपनिङ गर्न सफल भयो । दोब्बर शो पाएको ‘सेन्टी भाइरस’को अगाडी ‘आमा’ले आफुलाई बलियो देखायो ।

यस्तै दोस्रो दिन ‘सेन्टी भाइरस’ले १.३५ करोड कमाउँदा ‘आमा’ले ७३ लाख ग्रस बटुल्यो । दुई दिनको व्यापारमा ‘सेन्टी भाइरस’ले कलेक्सन २.४७ करोड पुर्याएको छ । भने, ‘आमा’ले १.३० करोडको आँकडा छोएको छ ।

रामबाबु गुरुङ निर्देशित फिल्मको व्यापारमा चितवनमा निर्माणाधिन गौतम बुद्ध इन्टरनेशनल क्रिकेट रंगशाला बनाउने अभियानले जोड पुर्यायो । व्यापारमा राम्रो भएपनि समिक्षकले फिल्मलाई राम्रो रेटिङ दिएका छैनन् । त्यसैले विकडेजको व्यापारमा ठुलो गिरावट देखिने सम्भावना बढेको छ ।

उता दीपेन्द्र के खनाल निर्देशित ‘आमा’को दर्शक प्रतिक्रिया र समिक्षात्मक दृष्टि उम्दा छ । त्यसैले विकडेजमा फिल्मले राम्रो होल्ड गर्न सक्छ ।

कमेडी फिल्म ‘सेन्टी भाइरस’मा सिताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, विल्सनविक्रम राई, बुद्दि तामाङ, सन्दीप क्षेत्रीलगायतका कलाकारको अभिनय छ ।

यस्तै ड्रामा ‘आमा’मा मिथिला शर्मा, सुरक्षा पन्त, सरिता गिरी, देशभक्त खनालको मुख्य भूमिका छ ।

प्रतिक्रिया दिनुहोस्