राहत नपाए हलमा ताला लगाउने प्रदीपकुमार उदयको चेतावनी



कोरोना महामारीका कारण देश लकडाउन भएको ७१ दिन पुगिसकेको छ । यस्तै फिल्म हल बन्द भएको ७७ दिन पुगिसकेको छ । त्यसैले फिल्म सम्बन्धि सम्पूर्ण काम ठप्प छन् ।

अन्य क्षेत्रमा भन्दा अझ बढी फिल्म क्षेत्र प्रभावित बनेको छ । फिल्मको प्रमुख कमाई खाने भाडो ‘हल’ ठप्प हुँदा करोडौँको घाटा बेहोर्नु परेको छ । तर, सरकारको यस क्षेत्रबारे कुनै मतलब नै छैन ।

केहि दिन अगाडीको बजेट भाषणमा हल संचालकले राहत पाउने आशा गरेका थिए । तर, सरकारले बजेटमा कुनै पनि कार्यक्रम ल्याएन । जसले गर्दा हल संचालकलाई अहिले सबैभन्दा बढी अप्ठेरो परेको छ ।

सरकारको वेवास्थालाई लिएर नेपाल चलचित्र संघका निवर्तमान अध्यक्ष तथा हल संचालक प्रदीप कुमार उदयले कडा टिप्पणी गरेका छन् । हल व्यवसायीको हितमा काम नगरे हलमा ताला लगाएर सरकारलाई चावी बुझाउनेसमेत उनले चेतावनी दिएका छन् ।

कोरोनाबाट तत्काल उन्मुक्ति पाइहाले पनि हल पहिलेकै समयमा फर्कन लामो समय लाग्नेछ । त्यसैले अति प्रभावित यस क्षेत्रलाई उपेक्षा गरिनुले आफु अचम्ममा परेको बताएका छन् ।

उदय लेख्छन ‘कोरोना महामारीको अति प्रभावित क्षेत्रमा परेका होटल, ट्राभल ट्रेकिंग, यातायात, पर्यटन, हवाई सेवा व्यवसाय जस्तै चलचित्र क्षेत्र पनि हो । अझ चलचित्र क्षेत्र त कोरोना महामारीबाट उन्मुक्ति पाए पछि पनि लामो समयसम्म प्रभावित पर्ने व्यवसाय हो तर प्रस्तुत २०७७/७८ को बजेटमा चलचित्र क्षेत्रलाई अति प्रभावित व्यवसायको रूपमा अन्य व्यवसायलाई जत्तिको छुटको दायरामा नराखिएको देख्दा अचम्मित छु ।यदि चलचित्र क्षेत्रलाई चलायमान बनाउन सरकारले प्राथमिकतामा नराख्ने हो भने नेपाली चलचित्र क्षेत्र संग सम्वन्धित धेरै बेरोजगार हुने साथै नेपाली चलचित्र क्षेत्र तहसनहस हुने अवस्था रहनेछ । यस प्रति हामी सबै नेपाली चलचित्र क्षेत्र सचेत रहन जरूरी छ । सरकारले हाम्रो यो कुरा नवुझ्ने हो भने हामी चलचित्र घरहरूमा ताला लगाएर सरकारलाई चावी बुझाउन बाध्य हुने छौ ।’

प्रतिक्रिया दिनुहोस्