यी फिल्म अपुरै छोडेर गए सुशान्त, पछिल्लो हिट थियो ‘छिचोरे’



टेलीसिरियलहुँदै छोटो समयमै बलिउडमा स्थापित अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेका छन् । सन् २०१३ मा फिल्म ‘काइ पो चे’बाट बलिउड डेब्यु गरेका सुशान्त बान्द्रास्थित आफ्नै फ्ल्याटमा पंखामा झुन्डिएको अवस्थामा फेला परेका थिए ।

बलिउडमा ‘एमएस धोनी’, ‘केदारनाथ’, ‘छिचोरे’, ‘पिके’ जस्ता सफल फिल्ममा अभिनय गरिसकेका सुशान्तको आत्महत्याको कारण भने खुलिसकेको छैन । सन् १९८६ मा विहारको पटनामा जन्मिएका सुशान्त जम्मा ३४ वर्षका थिए । उनि विगत ६ महिनादेखि डिप्रेसनको शिकार रहेको बताइएको छ ।

सुशान्त पछिल्लो छिमलका प्रतिभाशाली अभिनेता थिए । ‘किस देश मे हे मेरा दिल’ धारावाधिकबाट अभिनय यात्रा सुरु गरेका सुशान्तले एकता कपूरको धारावाहिक ‘पवित्र रिस्ता’बाट ख्याति कमाएका थिए ।

डेब्यु फिल्म ‘काइ पो चे’बाट अभिनयमा तारिफ बटुलेपछि सुशान्तले पछाडी फर्केर हेर्नु परेन । २०१३ मै ‘शुद्ध देशी रोमान्स’, २०१४ मा ‘पिके’, २०१५ मा ‘डिटेक्टिभ बोम्केश बोक्छी’मा अभिनय गरेका सुशान्तको करिअरकै उत्कृष्ट फिल्म ‘एमएस धोनी’ मानिन्छ । यो फिल्ममा उनले भारतीय पुर्वकप्तान महेन्द्र सिंह धोनीको भूमिका निर्वाह गरेका थिए ।

यस्तै २०१७ मा ‘राब्ता’ र २०१८ मा ‘केदारनाथ’मा अभिनय गरेका थिए । यस्तै २०१९ मा उनका तीन फिल्म ‘सोनचिरिया’, ‘छिचोरे’ र ‘ड्राइभ’ रिलिज भएका थिए । ‘छिचोरे’ उनको पछिल्लो सुपरहिट फिल्म थियो । यो फिल्म पनि उनको करिअरको सम्झनलायक सुचीमा गनिन्छ । यस्तै ‘ड्राइभ’ भने हलमा रिलिज नभएरै ओटीटिमा रिलिज भएको थियो ।

उनका केहि फिल्म रिलिज हुन् बाँकी छन् ।  सिनेमा ‘दिल विचारा’ पोस्टप्रोडक्सनमा छ । भने, ‘चन्दा मामा दुर के’, ‘टाकाडुम’ र ‘राइफलम्यान’ घोषणा भएर छायांकनको तयारीमा थिए ।

उनको मृत्युसँगै बाँकी रहेका फिल्मको छायांकन अपुरो बनेका छन् ।

सुशान्तको आत्महत्याले बलिउड शोकमा डुबेको छ । कोरोना महामारीको लकडाउनका बीच वरिष्ठ अभिनेताद्वय ऋषि कपूर, इरफान खान र संगीतकार वाजिद खान र वरिष्ठ गीतकार योगेश गौरलाई गुमाएको बलिउडलाई सुशान्तको आत्महत्या झन् पिडा थपिदिएको छ ।

स्मरण रहोस ७ दिन अगाडी मात्रै सुशान्तकी म्यानेजर दिशाले आफ्नो घरको १४ औँ तलाबाट हाम फालेर आत्महत्या गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्