११३ प्राविधिकलाई हमालको आर्थिक सहयोग



अभिनेता राजेश हमालले लकडाउनका कारण समस्यामा परेका ११३ जना प्राविधिकहरुलाई आर्थिक सहयोग गरेका छन् । चलचित्र प्राविधिक संघले आयोजना गरेको एक कार्यक्रमका बीच हमालले प्राविधिकलाई जनही ५ हजारका दरले आर्थिक सहयोग गरेका हुन् ।

हमालले ११३ जना प्राविधिकको लागि समग्रमा ५ लाख ६५ हजार वितरण गरेको संघका अध्यक्ष पुस्कर लामाले जानकारी दिए ।

सहयोग कार्यक्रममा बोल्दै हमालले आफ्ना लागि प्राविधिकहरु सधै उच्च स्थानमा रहेको बताए । ‘यो रकम ठुलो नभएपनि समस्यामा परेका प्राविधिकलाई केहि हदसम्म राहत मिल्ने अपेक्षा छ । समस्या अझै बल्झिदै गए आगामी दिन यो भन्दा नि ठुलो सहयोग हुनेछ ।’ हमालले भने ।

प्राविधिकको लागि विदेशबाट पनि सहयोग गर्नेहरुप्रति हमालले धन्यवाद पनि व्यक्त गरे । आफुहरु समस्यामा पर्दा सिनेमा क्षेत्रको गर्विलो व्यक्तिबाट सहयोग पाउँदा प्राविधिकहरुले खुसि व्यक्त गरेका छन् ।

कोरोना महामारीका कारण चैत ११ गतेदेखिको बन्दले फिल्मको छायांकन, सम्पादन र रिलिज रोकिएका छन् । झन्डै ६ महिना काम विहिनहुँदा प्राविधिकहरु समस्यामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्