पर्दामा पहिलो पटक साम्राज्ञी र पलको जोडी



रंगखबर, काठमाडौँ – चल्तीका कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाह र पल शाहले पहिलो पटक सँगै फिल्म गर्ने भएका छन् । यी दुई कलाकारलाई अनुबन्धित गरेर निर्माता रमेश एमके पौडेलले फिल्म ‘रेड वाइन’ घोषणा गरेका छन् ।

लामो समयदेखि संचार क्षेत्रमा सक्रिय पौडेलले पहिलो पटक फिल्म निर्देशन गर्न लागेका हुन् । यसअघि उनले रेखा थापा/आर्यन सिग्देल स्टारर ‘रुद्रप्रिया’ र केकी अधिकारी/नाजिर हुसेन स्टारर ‘रज्जा रानी’ निर्माण गरिसकेका छन् ।

बिशुद्द प्रेमकथामा आधारित रहने ‘रेड वाइन’को सम्पूर्ण छायांकन अमेरिका मै हुनेछ ।निर्माता पौडेलकै कथा र गीत लेखन रहने फिल्ममा सन्दिप क्षेत्री र अमेरिका मै बसोबास गर्ने इमिली लामाको पनि अभिनय रहनेछ । भने, पटकथा र संवाद सबिर श्रेष्ठले तयार गरेका छन् ।

आर्यन फिल्मस् प्रोडक्सन र बोधी एचडी अमेरिकाको व्यानरमा निर्माण हुने फिल्ममा पासाङ लामा र आर्यन पौडेलको लगानी रहनेछ । भने, सह निर्मातामा निरु भण्डारी रहनेछिन ।

दशैँ-तिहार बीचको समयमा अमेरिकामा छायांकन सुरु हुने ‘रेड वाइन’ निर्माण कार्यमा ‘८८४८’ मिडियाको पनि आबद्दता रहनेछ ।

पल र साम्राज्ञीको पहिलो सहकार्य

अहिलेका जल्दाबल्दा कलाकार पल र साम्राज्ञीको पहिलो स्क्रिन साझेदारी विशेष मानिएको छ । दुईको सहकार्यले बक्सअफिसमा कस्तो नजिता प्रस्तुत गर्छ भन्ने उत्सुकता अझ रोचक बन्नेछ ।

पल र साम्राज्ञीले २०७२ सालमा डेब्यु गरेका थिए । एक महिनाको अन्तरालमा नेपाली फिल्मको पर्दामा झुल्किएका पल र साम्राज्ञीले छोटो समयमै लोकप्रियता कमाएका छन् ।

पाँच वर्षको करिअरमा साम्राज्ञीका ७ र पलका ५ फिल्म रिलिज भइसकेका छन् । भने, ‘रेड वाइन’सहित अब साम्राज्ञीका २ फिल्म पाइपलाइनमा रहनेछन । यस्तै पलको हातमा अब ५ ओटा फिल्म हुनेछन ।

जो रिलिज मध्ये साम्राज्ञीका २ फिल्म सफल छन् । भने, पलले ३ फिल्मको सफलता चाखिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्