नयाँ वर्षमा तीन फिल्मको भिडन्त



रंगखबर, काठमाडौँ – कोरोना महामारीका कारण १० महिना ठप्प रहेका फिल्म हलहरु पुष १० देखि संचालनमा आए । संचालनमा आएपनि हलसम्म दर्शक पुग्न सकेका छैनन् ।

नयाँ र स्तरीय फिल्म रिलिज नभएका कारण पनि हलमा दर्शक पुग्न सकिरहेका छैनन् । त्यसैले नयाँ र राम्रा फिल्म रिलिज गरेर दर्शक हलसम्म फर्काउनेमा फिल्मकर्मी आशावादी छन् ।

तर, नयाँ फिल्महरुले एउटै मितिमा रिलिज डेट तोक्दा फिल्म क्षेत्र गर्माएको छ । चैत २७ लाई लक्षित गरेर तीन ठुला फिल्मले रिलिज डेट घोषणा गरेका छन् । यदि यो मितिमा तीन फिल्म प्रदर्शन भएमा निर्माताको लगानी जोखिममा पर्नेछ । त्यसैमा सरकारले ५० प्रतिशत अकुपेन्सीमा मात्र दर्शक राख्न निर्देशन दिएको छ ।

चैत २७ मा अभिनेता पुष्प खड्काका दुई फिल्म ‘मनसँग मन’ र ‘कृष्ण लीला’ रिलिज हुँदैछन् । रोमान्टिक जनराका यी दुई फिल्मले पुष्पलाई तनाव दिएका छन् । दुई फिल्म एकसाथ रिलिज हुँदा कलाकारलाई प्रचारमा खटिन गाह्रो पर्ने गर्छ ।

दीपक ओलीले निर्देशन गरेको ‘कृष्ण लीला’मा पुष्पले श्रद्धा क्षेत्रीसँग जोडी बाँधेका छन् । भने, कैलास राई निर्देशित ‘मनसँग मन’मा पुष्प र वर्षा सिवाकोटीको जोडी बाँधिएको छ ।

यस्तै यहि मितिमा मल्टीस्टारर ‘लप्पन छप्पन २’ले पनि रिलिज घोषणा गरेको छ । मुकुन्द भट्ट निर्देशित एक्सन ड्रामामा सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, शक्ति श्रेष्ठ, प्रकाश कुँवर, स्व. दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाललगायतका कलाकारहरुको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्