एजेन्ट ‘अग्नी’को रुपमा कंगना



रंगखबर, काठमाडौँ – हक्की स्वभावकी अभिनेत्री कंगना रनाउत जति बोल्छिन, त्यो भन्दा पनि बढी उनको अभिनय बोल्छ । उनका रिलिज फिल्मले यो प्रमाणित गरिसकेका छन् । कि, उनि पछिल्लो भारतकी प्रभावशाली अभिनेत्री हुन् ।

कोरोना महामारीको लकडाउनमा भर्चुअल माध्यमबाटै थुप्रै बलिउडकर्मी र भारतीय उच्च तहका व्यक्तित्वहरुको निन्द्रा हराम गरेकी कंगना अब एक्सन कटमा फर्किएकी छन् । 

उनको आगामी स्पाई-एक्सन फिल्म ‘धाकड’को छायांकन अहिले धमाधम भइरहेको छ । यो फिल्ममा हामीले कंगनालाई एक्सन अवतारमा देख्न सक्छौँ । उनले एजेन्ट ‘अग्नी’को भूमिका निर्वाह गरिरहेकी छन् । ‘मान्छे उसलाई अग्नी भन्छन । तर म भन्छु, उ मृत्युकी देवी भैरवीको हो ।’ कंगना इन्स्टाग्राम क्याप्सनमा ‘अग्नी’को बयान गर्छिन ।

यो फिल्मको अहिले एउटा एक्सन सिनको छायांकन चलिरहेको छ । जसको लागि गरिएको टिमवर्कलाई लिएर कंगना भन्छिन, ‘मैले अहिलेसम्म यस्तो कुनै निर्देशक देखेकी छैन, जो रिहर्सलको लागि यति धेरै मिहेनत गर्छ । भोलि रातिदेखि अहिलेसम्म कै ठुलो एक्सन सिक्वेन्स खिचिदैछ । त्यसैको तयारी देख्दा म हैरान भएकी छु । मलाई धेरै कुरा सिक्ने अवसर मिलिरहेको छ । २५ करोड भन्दा धेरै पैसा यो एउटा सिनको लागि खर्च गरिदैछ ।’

रजनीश राजी घईले निर्देशन गरिरहेको ‘धाकड’मा कंगनासँगै अभिनेता अर्जुन रामपाल पनि मुख्य भूमिकामा छन् ।

कंगनालाई हामीले पछिल्लो पटक फिल्म ‘पंगा’मा कबड्डी खेलाडीको भूमिकामा हेरेका थियौँ । फिल्म ‘थलैवी’मा भने एक महिला राजनीतिज्ञको भूमिकामा देख्न पाउनेछौँ ।

प्रतिक्रिया दिनुहोस्