‘कबड्डी’ सिरिजको चौथों फिल्म घोषणा, हुनेछ अन्तिम ‘म्याच’



रंगखबर, काठमाडौँ – निर्देशक रामबाबु गुरुङले ‘कबड्डी’ सिरिजको अन्तिम भागको घोषणा गरेका छन् । उनले सामाजिक संजालबाट लोगो, रिलिज र अन्तिम नाम सार्वजनिक गरेका हुन् ।

यसअघिका तीन शृंखलाको नाम ‘कबड्डी’, ‘कबड्डी कबड्डी’ र ‘कबड्डी कबड्डी कबड्डी’ राखिएको थियो । यसपटक उपशिर्षकसहित ‘कबड्डी ४: द फाइनल म्याच’ नाम तय भएको छ । 

निर्देशक गुरुङका अनुसार यो फिल्मलाई आगामी साल २०७८ मा रिलिज गरिनेछ । तर, कुन मिति भन्ने तय गरिएको छैन । फिल्म बाँसुरी फिल्मस् प्रोडक्सनको व्यानरमा निर्माण हुनेछ ।

रामबाबुको ब्राण्डिङ सिरिज 
वि.सं. २०७१ सालमा ‘कबड्डी’ मार्फत रामबाबु गुरुङले फिचर फिल्म निर्देशनमा हात हालेका थिए । फिल्ममा दयाहाङ राई, रिश्मा गुरुङ, बुद्धि तामाङ, विजय बराल, निश्चल बस्नेतलगायतका कलाकारहरुको अभिनय थियो ।

भेट्रान निर्देशकहरुका फिल्मले दर्शक नपाइरहेको उक्त समयमा रामबाबुको पहिलो निर्देशकीय खुराकले हलसम्म भिड जम्मा गर्न सफल भएको थियो । फिल्म पनि चल्यो, रामबाबुको चर्चा पनि चुलियो ।

‘कबड्डी’ रिलिजको डेढ वर्षपछि सिक्वेल ‘कबड्डी कबड्डी’ले पनि बक्सअफिसमा सफलताको झण्डा गाड्यो । 

त्यसपछि रामबाबुले ‘पुरानो डुंगा’, ‘मिस्टर झोले’ र ‘साइँली’ निर्देशन गरे । तर, ‘कबड्डी’ सिरिजको जस्तो सफलता पाएनन् । त्यसपछि उनले पुन: ‘कबड्डी’ सिरिज अगाडी बढाउने निधो गरे ।

गत वर्ष रिलिज भएको ‘कबड्डी कबड्डी कबड्डी’ बक्सअफिसमा ब्लकबस्टर सावित भयो । त्यसपछि उनले धुर्मुस-सुन्तलीको ‘सेन्टी भाइरस’ निर्देशन गरे । तर, फिल्म चलेन ।

अन्तत: निर्देशकले ‘कबड्डी’ सिरिज टुंग्याउने निधो गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्