कुटपिट र दुर्व्यवहारको आरोपमा पल विरुद्द उजुरी



रंगखबर, काठमाडौँ – अभिनेता पल शाह विरुद्द प्रहरीमा उजुरी परेको छ । आफुमाथि कुटपिट र दुर्व्यवहार भएको भन्दै चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानले पलविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका हुन् ।

म्युजिक भिडियो छायांकनका लागि धरान पुगेका  पल र उनका दुई जना सहयोगीहरु मिलेर आफु माथि कुटपिट तथा दुर्व्यवहार गरेको प्रधानले जानकारी दिएका छन् । पलका सहयोगीले कुटपिट गर्दा पल केहि नबोलिकन बसेको भन्दै प्रधानले पलको निर्देशनमा उक्त घटना घटेको आरोप पनि लगाएका छन् ।

प्रधानले कुनै पनि हालतमा पलले लिखित रुपमा माथि माग्नु पर्ने माग गरेका छन् । यदि पलले माफी माग्न अटेरी गरेमा कारबाही गरिने चेतावनी दिएका छन् ।

उजुरीपछि प्रहरी कार्यालयले पललाई छलफलको लागि शुक्रबार बोलाइएको छ ।

दुर्व्यवहार त म माथि भयो – पल शाह 

आफुले अरुण प्रधान माथि कुटपिट र दुर्व्यवहार गरेको खबर झुटो भएको पलले बताएका छन् । उल्टै आफुमाथि प्रधान र उनका साथीहरुले दुर्व्यवहार गरेको पलले आरोप लगाएका छन् ।

एक अनलाइनसँग बोल्दै पलले भनेका छन्, ‘हामी म्यूजिक भिडियो छायांकनका लागि धरानमा छौं । खाना खाने क्रममा अरुणजीले मलाई र मेरा सहयोगी कृष्णप्रसाद जोशीलाई दुर्व्यवहार गर्नुभयो ।’

पलले अगाडि भने–‘एउटा कार्यक्रमका लागि अरुणजीले मलाई जानुपर्छ भनेपछि मैले मेरो म्यानेजर कृष्ण जोशीसँग कुरा गर्न भनेको थिएँ । यसपछि अरुणजीले मलाई ए यो भाई ठूलो भएको, म यसको नाम हटाइदिन्छु भन्दै औला नै ठड्याएर कुरा गर्नुभयो । कृष्णले अरुणजीलाई तपाइले बोल्ने तरिका यही नै हो, हामी त गेष्ट हौं भनेका थिए । मलाई अरुणजीले उल्टै औंला देखाएर पिट्न खोज्नुभयो ।’

पलले कुनै पनि कार्यक्रममा उपस्थित हुने कि नहुने भन्ने कलाकार स्वयम्को हक हुने बताए ।

प्रतिक्रिया दिनुहोस्