‘गोर्खा वारियर’ नबन्दै मिलनले घोषणा गरे ‘गोर्खा वारियर २’



रंगखबर, काठमाडौँ – निर्देशक मिलन चाम्सले नयाँ फिल्म ‘गोर्खा वारियर २’ घोषणा गरेका छन् । मंगलबार राजधानीमा आयोजित भव्य प्रेसमिटमा फिल्मद्वारा गोर्खालीको गाथा बोलिने निर्देशक चाम्सले प्रष्ट पारे ।

‘फिल्मका लागि मैले धेरै रिसर्च गरेको छु । विश्वभर गोर्खाली बहादुरीको चर्चा हुने गर्दछ । यसका थुप्रै ब्राण्ड पनि स्थापित भइसकेका छन् । त्यसैले नेपाली फिल्ममा गोर्खालीको बहादुरी र वीरताको कथा भन्न जरुरी छ ।’ निर्देशक चाम्सले भने ।

फागुन २७ देखि छायांकनमा जाने ‘गोर्खा वारियर २’मा रितेश चाम्स, रेविका गुरुङ, रियर राई, विजय लामा, शिशिर बांग्देल, बुद्धि तामाङ, कविता आले, विरुप घले, सारा राईलगायतका कलाकारहरुको अभिनय रहनेछ ।

लन्डन सिनेआई प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्ममा सुरेश राई र पूर्ण लिम्बुको सह-लगानी रहनेछ ।

फिल्ममा निर्देशक चाम्सको कथा, मिलन/गिरिराज घिमिरेको पटकथा/संवाद र सुदिप बरालको छायांकन रहनेछ ।

नेपालसँगै मलेसिया र बेलायतमा खिचिने फिल्ममा हिमाल केसीको एक्सन, एलिस कार्कीको संगीत र अर्जुन बिसीको सम्पादन रहनेछ ।

‘गोर्खा वारियर’ अगाडी नै दोस्रो भाग बन्ने 

निर्देशक चाम्सले १ वर्ष अगाडी नै ‘गोर्खा वारियर’ बनाउने घोषणा गरेका थिए । तर, कोरोना भाइरसका कारण फिल्मको काम अगाडी बढ्न पाएन ।

मंगलबार चाम्सले ‘गोर्खा वारियर २’ घोषणा गरे । यो फिल्म रिलिज भइसकेपछि मात्र ‘गोर्खा वारियर’को निर्माण अगाडी बढ्ने चाम्सले जानकारी दिए ।

‘पहिलो त कोरोनाले गर्दा ‘गोर्खा वारियर’को काम रोकियो । फिल्मको बजेट धेरै हुने भएकाले तत्काललाई फिल्मको काम रोकेका हौँ । अब ‘गोर्खा वारियर २’पछि मात्र पहिलो शृंखला बनाउने छौँ ।’ निर्देशक चाम्सले ‘गोर्खा वारियर’को ४ ओटा सिरिज बन्ने पनि बताए ।

‘गोर्खा वारियर’मा दयाहाङ राई, प्रशान्त तामाङ, वर्षा सिवाकोटी, विजय लामा, वुद्दि तामाङ, माओत्से गुरुङ, रुपा पुन, कविता आले र केहि हलिउड कलाकारले अभिनय गर्ने बताइएको थियो । 

प्रतिक्रिया दिनुहोस्