चलचित्र पत्रकार संघ सुनसरी गठन, देशभरी पुगे ९ शाखा



रंगखबर, काठमाडौँ – फिल्म बिटमा कलम चलाउनेहरुको साझा संस्था चलचित्र पत्रकार संघ, नेपालको सुनसरी शाखा गठन भएको छ ।

बुधबार रंग पत्रकार विनोद विश्वकर्माको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन भएको हो । अध्यक्ष विश्वकर्मा हार्ट एफएम धरानका कार्यक्रम संयोजक हुन् ।

सुनसरी शाखा कार्यसमितिमा मनोज दाहाल उपाध्यक्ष, सुमन भट्टराई सचिव, शरुपा थापा मगर सह-सचिव, सविना बान्तवा कोषाध्यक्ष रहेका छन् । यस्तै सदस्य तर्फ नरेन कुलुङ, रविन राउत, आरबि कटुवाल, राजकुमार खाती, प्रशान्त पुरी र सुप्रिया राई छन् ।

समितिको बाँकी सदस्य र सल्लाहकारको टुंगो कार्यसमितिको पहिलो बैठकबाट लगाउने सचिव सुमन भट्टराईले जानकारी दिए ।

सुनसरीसँगै अब चलचित्र पत्रकार संघ, नेपालका देशभरि ९ ओटा शाखा पुगेका छन् । यसै साता संघका थप पाँच शाखा गठन हुने केन्द्रिय कार्यसमितिका महासचिव समीर बलामीले जानकारी दिएका छन् ।

केन्द्रिय कार्यसमितिले आउँदो फागुन २६ गते चलचित्र पत्रकार बाबु सुरेश डिसीको उपचारको सहयोगार्थ फिल्म ‘कालो पोथी’को च्यारिटी आयोजना गर्दैछ । यस्तै चैत ३ गते केन्द्रिय साधारण सभा घोषणा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्