‘बिहे पास’को छायांकन सुरु, श्रीमान-श्रीमती बन्दै दयाहाङ र प्रकृति



रंगखबर, काठमाडौँ – दयाहाङ राई र प्रकृति श्रेष्ठको मुख्य भूमिका रहने फिल्म ‘बिहे पास’को छायांकन सुरु भएको छ ।

पूर्वी नेपालका बिभिन्न स्थानमा खिचिने फिल्मको शुक्रबार विराटनगरको एक मन्दिरमा शुभमुहूर्त गरियो । प्रवेश पौडेलले निर्देशन गर्ने फिल्ममा दयाहाङ र प्रकृतिले पहिलो पटक जोडी बाँध्न लागेका हुन् ।

आकाश बराल र सजन काफ्लेको पटकथामा दया र प्रकृतिले श्रीमान-श्रीमतीको भूमिका निर्वाह गर्नेछन् । 

रोहित कट्टेलको प्रस्तुति रहेको फिल्ममा रत्न श्रेष्ठले कार्यकारी निर्माण जिम्मेवारी सम्हाल्नेछन् । ग्याल्जेन लामा फिल्मका सहनिर्माता हुन् ।

प्रकृतिको कमब्याक 
‘बिहे पास’ मार्फत अभिनेत्री प्रकृति श्रेष्ठले नेपाली फिल्ममा कमब्याक गर्दैछिन । उनि अभिनित पछिल्लो फिल्म ‘जिन्दगी रक्स’ ६ वर्ष अगाडी प्रदर्शनमा आएको थियो ।

वि.सं. २०७० सालमा ‘होस्टेल’बाट डेब्यु गरेकी प्रकृतिले त्यसपछि फिल्म ‘उत्सव’मा अभिनय गरेकी थिइन् । ‘जिन्दगी रक्स’ रिलिजताका विवाह बन्धनमा बाँधिएकी प्रकृति विगत ६ वर्षदेखि श्रीमानसँग अस्ट्रेलियामा बस्दै आएकी छन् ।

‘बिहे पास’को लागि भनेर प्रकृति दुई साता अगाडी मात्रै नेपाल ल्याण्ड भएकी थिइन् । स्क्रिप्ट र आफ्नो भूमिका मन परेकाले फिल्म साइन गरेको उनले बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्