कलाकारको मेलम्ची पुननिर्माण समितिमा करिश्माको १ लाख सहयोग



रंगखबर, काठमाडौं – मेलम्ची बाढी पिडितहरुका लागि नेपाली फिल्म कलाकारहरुको सहयोग गरिरहेका छन् । निर्देशक दीपाश्री निरौला र स्वस्तिमा खड्का, आँचल शर्मा, श्वेता खड्का, पूजा शर्मालगायतका अभिनेत्रीहरुले मेलम्ची पुगेर सक्दो सहयोग गरिसकेका छन् ।

यसैबीच मेलम्ची बाढी पिडितका लागि दिर्घकालिन सहयोग पुर्याउने उद्येश्यसहित अभिनेता कृष्ण मल्लको संयोजकत्वमा कलाकारहरुले समिति गठन गरेका छन् ।

यो समितिले बाढी पिडितहरुको संरचना पुननिर्माणका लागि कोष स्थापना गरेर  सहयोग जुटाउने छ । 

शनिबार काठमाडौंमा स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ, सिन्धुपाल्चोक जिल्ला विकास समितिका सभापति कृष्णगोपाल तामाङ, मेलम्ची नगरपालिकाका मेयर डम्बरबहादुर अर्याल लगायतका जनप्रतिनिधि एवं सिन्धुपाल्चोक गृहजिल्ला भएका कलाकारहरु कृष्ण मल्ल, जितु नेपाल, श्वेता खड्का, चेतन सापकोटा, कृष्ण ढुंगाना लगायत सहभागि भएर गरिएको छलफलले समिति गठन गरेको हो ।

‘तत्काललाई राहत भन्दा पनि दीर्घकालिनरुपमा व्यवस्थापनका लागि समिति गठन गरिएको हो’ अभिनेता मल्लले भनेका छन्, ‘घर बगाएकाका परिवारहरु अहिले अहिले अन्यन्त्र आश्रय लिएर बसिरहेका छन् ।

उनीहरुलाई दीर्घकालिन घरको आवश्यकता छ । घरको पुननिर्माण, त्यस्तै पुल र विद्यालयको पुननिर्माण लगायतका लागि हामी कलाकारहरुले औद्योगिक घराना, गैरआवासीय नेपाली र आफ्ना फ्यानहरुलाई सहयोगको आह्वान गर्छौ ।’

आगामी १० गते बस्ने बैठकले भावी योजनाहरुमा छलफल गर्ने अभिनेता मल्लले जानकारी दिएका छन् ।

समिति गठन भएसँगै अभिनेत्री करिश्मा मानन्धरले मेलम्ची पुननिर्माणका लागि आफुले १ लाख सहयोग गर्ने घोषणा गरेकी छन् ।

करिश्मा सहयोग घोषणा गर्दै फेसबुकमा लेख्छिन, ‘अहिले कोरोना महामारीको अवस्थामा यो नै सुरक्षित उपाय हो । साथै उठेको रकमले कमसेकम उहाँहरुलाई वर्षाको समयमा ओत लाग्ने छानोको व्यवस्था हुन सकोस ।’

करिश्माले यस समितिलाई सबैले सहयोग गर्न आव्हान पनि गरेकी छन् । 

प्रतिक्रिया दिनुहोस्