कलाकार पल्पसा डंगोल (चम्सुरी)का दुवै मिर्गौला फेल, सहयोग गर्न अपिल



रंगखबर, काठमाडौँ – दुवै मिर्गौला फेल भएर एक महिनादेखि काठमाडौँको टिचिङ अस्पतालमा उपचाररत हास्य कलाकार पल्पसा डंगोल (चम्सुरी)को उपचारका लागि निर्देशक तथा कलाकार दीपाश्री निरौलाले सहयोग आव्हान गरेकी छन् ।

उनले सम्पूर्णमा पल्पसाको उपचारको लागि सहयोग गरिदिन आग्रह गरेकी हुन् ।

पल्पसाको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेकी निरौलाले भनिन्, ‘दर्शकको लोकप्रिय कलाकार चम्सुरी आज यो अवस्थामा पुगेकी छ । उसलाई एउटा मिर्गौलाको जरुरत छ । हामीले आफन्तबाट मिलाउने कोसिस गरेका छौँ । आशा छ, उसको मिर्गौला प्रत्यारोपण लागि सहयोग आउनेछ ।’

दीपाश्रीका अनुसार पल्पसा विगत पाँच वर्षदेखि मिर्गौला सम्बन्धि समस्यासँग जुधिरहेकी थिइन् । स्वास्थ्यमा समस्या देखिएपछि एक महिना अगाडी उनि अस्पताल भर्ना भएकी थिइन् ।

पल्पसा अहिले नियमित डायलसिसको साहारामा उपचाररत छिन । उनको मिर्गौला प्रत्यारोपणका लागि ५० लाख रकम चाहिने बताइएको छ । 

पल्पसा हास्य टेलीशृंखला ‘मेरी बास्सै’बाट ‘चम्सुरी’को नामले प्रख्यात भएकी थिइन् । थुप्रै टेलीशृंखला र फिल्ममा अभिनय गरेकी पल्पसाले टेलिसिरियल ‘दृष्टी’ पनि निर्माण गरेकी थिइन्।

पल्पसाको स्वास्थ्य अवस्थाबारे जानकारी पाएपछि कलाकर्मीहरुले शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

यस्तै आइतबार हास्य कलाकार किरण केसी पनि पल्पसाको स्वास्थ्य अवस्था बुझ्न टिचिङ अस्पताल पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्