‘बिग बोस’ विजेता सिद्धार्थ शुक्लाको निधन



रंगखबर, काठमाडौँ – बलिउड कलाकार तथा ‘बिग बोस सिजन १३’का विजेता सिद्धार्थ शुक्लाको निधन भएको छ । मुम्बईको कपूर अस्पतालले उनको मृत्युको खबर पुष्टि गर्यो ।

४० वर्षीय शुक्लालाई हृदयघात भएको बताइएको छ । 

भारतीय मिडियाका अनुसार शुक्लाले राती सुत्नु भन्दा अगाडी केहि औषधि खाएका थिए । तर, उनि उठ्न पाएनन् ।

उनलाई बिहिबार विहान अस्पताल पुर्याइएको थियो । त्यसपछि अस्पतालले हृदयघातका कारण उनको निधन भएको पुष्टि गरेको हो ।

टेलिभिजन दुनियाँमा सिद्धार्थ एक लोकप्रिय कलाकार थिए । उनले ‘बिग बोस’सँगै ‘फियर फ्याक्टर’को सातौँ सिजन पनि जितेका थिए । 

सन् १९८० मा जन्मिएका सिद्धार्थले मोडलिङ हुँदै करिअर सुरु गरेका थिए । सन् २००८ मा ‘बाबुलका आँगन छुटे ना’बाट अभिनय यात्रा सुरु गरेका सिद्धार्थलाई ‘बालिका बधु’ले पहिचान दिलाएको थियो ।

त्यसपछि उनी टेलिभिजनको दुनियाँमा लोकप्रिय बनेका थिए । सिद्धार्थले २०१४ मा रिलिज भएको बलिउड फिल्म ‘हम्टी शर्माकी दुल्हानियाँ’मा पनि अभिनय गरेका थिए । 

उनि अन्तिम पटक ‘बिग बोस १४ – ओटिटी’ र ‘डान्स दिवाने ३’मा अतिथि बनेर देखा परेका थिए ।

प्रतिक्रिया दिनुहोस्