डाँडाको बर पीपल: दशैँमा रिलिज तोक्दै सार्वजनिक भयो गीत



रंगखबर, काठमाडौँ – निर्देशक सोभित बस्नेतले दशैँमा रिलिज मिति तोक्दै फिल्म ‘डाँडाको बर पीपल’को पहिलो गीत सार्वजनिक गरेका छन् ।

राजधानीमा आयोजित एक कार्यक्रमका बीच निर्देशक बस्नेतले आफ्नो फिल्म असोज २६ गते फूलपातीका दिनबाट देशैभर प्रदर्शनमा आउने जानकारी दिए ।

फिल्म रिलिजका लागि आफुले निक्कै दौडधुप गरेको र दशैँमा जसरी पनि फिल्म रिलिज गर्ने दावी गरे । पछिल्लो समय नेपालका मल्टीप्लेक्सहरुले पुराना निर्देशकहरुको फिल्म चलाउन नमानिरहेको अवस्थामा ‘डाँडाको बर पीपल’ भने सम्पूर्ण मल्टीप्लेक्समा प्रदर्शन हुने बताए ।

आइतबार रिलिज गरिएको ‘काट्दिउला जुँगा जम्मै’ बोलको गीतको भिडियो पनि दशैँलाई लक्षित गरेर निर्माण गरिएको छ । गीतले दशैँ नजिकिएको भान गराउछ ।

स्वर्गीय गायक खेमराज गुरुङ र रीमा गुरुङको स्वर रहेको गीतमा फिल्मका सम्पूर्ण कलाकारहरुलाई फिचर्ड गरिएको छ । 

उमंग लामाको शब्द तथा संगीत रहेको गीतमा फणिन्द्र राईको एरेञ्ज छ । भने, रचनामा केशव चौलागाईंले पनि साथ दिएका छन् । गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् ।

पारिवारिक कथामा निर्माण भएको फिल्ममा शिव श्रेष्ठ, गौरी मल्ल, भुवन केसी, सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत, अस्मिता जुरेली, हिउँवाला गौतम, प्रभात पललगायतका कलाकारहरुको अभिनय छ ।

नवराज गिरीको कथा तथा निर्माण रहेको फिल्ममा सुशन प्रजापतिको छायांकन, रोशन श्रेष्ठको द्वन्द्व र मित्रदेव गुरुङको सम्पादन छ । 

प्रतिक्रिया दिनुहोस्