उपाधिको दौडमा कलाकारहरु



आइतबार, निर्देशक शोभित बस्नेतले आफ्नो फिल्म ‘डाँडाको वरपीपल’को गीत र रिलिज डेट घोषणाको कार्यक्रम राखेका थिए ।

मिडिया र फिल्मका कलाकारहरुको राम्रै उपस्थिति थियो । अघिल्लो पुस्ताका कलाकार शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल र नयाँ पुस्ताका सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपानेलगायतको उपस्थितिले कोरोना अघिको माहोलको स्मरण गरायो ।

भुवन-शिवको १६ वर्षपछिको कमब्याकबारे प्रश्न सोध्न पत्रकार तमतयार देखिन्थे । तर, कार्यक्रम संचालन गरिरहेका निर्देशक बस्नेतले त सबैको ध्यान ‘महानायक-महानायिका’ उपाधि तिर मोडिदिए । भुवनलाई आसन ग्रहणका लागि बोलाउँदै सोभितले भनिदिए, ‘नेपालको एक मात्र महानायक।’

आसन ग्रहणको काम सकिएपछि चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, कलाकार संघका अध्यक्ष रविन्द्र खड्का र निर्देशक/निर्माता अशोक शर्माले शुभकामना व्यक्त गरे । शुभकामना दिँदै गर्दा अशोकले सोभितलाई सचेत रहन आग्रह गरे, ‘एक जनाले महानायक भनेर फसेको छ । तिमि पनि फसौला होस् गर ।’

उपाधि दिने क्रम रोकिएन । भवनले आफ्नो बोल्ने पालोमा थपिहाले, ‘नेपाली चलचित्रको रियल महानायिका गौरी मल्ल पनि हुनुहुन्छ । ‘मैले कुनै कन्ट्रोभर्सी कुरा गरेको होइन । म जे बोल्छु सत्य बोल्छु । गौरी मल्ल अभिनयको महारानी, अभिनयको महानायिका हो । भावी आउने पुस्ता पनि गौरीको अभिनयको नजिक आउदैन ।’

यति मात्र होइन उनले शिव श्रेष्ठलाई नेपालको महानायक भन्न भ्याए । ‘जसले पाकिस्तान थर्काएर नेपाल चिनाउनु भएको छ । यस्तो महानायक-महानायिकाहरुसँग काम गर्न पाउदा म हृदयदेखि आभारी छु’ भुवनले भने ।

भुवनको कुरामा सहि थप्दै अभिनेता श्रेष्ठले पनि गौरीलाई महानायिकाको उपाधि दिए, ‘गौरी मल्ल हाम्रो इन्सिच्युट हो । हामीले सेटमा उहाँबाट धेरै कुरा सिकेका छौँ । उहाँ हाम्रो महान नायिका हो ।’

माहोल नै उपाधिले तातियो । पत्रकारलाई यसबारे प्रश्न गर्ने मेलो मिल्यो । ‘यसअघि नै एक संस्थाले करिश्मा मानन्धरलाई महानायिकाको उपाधि दिइसकेको छ । होइन कति जना महानायिका हो ?

पत्रकारको प्रश्न भुईमा खस्न नपाउँदै शिवले जवाफ दिए, ‘महानायिकाको उपाधि छ नि, जसले जसलाई दिन पनि पाउछ । मैले पनि दिन पाउछु । म पनि कलाकार हो । म पनि एउटा देशको नागरिक हो । मैले देखेको कुरा भन्न त पाउछु नि ?’

शिवले करिश्मालाई ‘ड्रिमगर्ल’ भन्दै आफ्नो लागि गौरी नै महानायिका भएको राय सुनाए ।

शिवले आफ्नो भनाई राख्न नपाउँदै निर्देशक बस्नेतले आफ्नो कुरा जोडे, ‘एउटा औचित्य नभएको संस्थाले कार्यक्रममा स्पोन्सरको ध्यान खिच्न त्यसरी करिश्मालाई उपाधि दिएको हो ।’

पत्रकारको प्रश्नमा आफुले पनि बोल्नु पर्ने भन्दै पुन: भुवनले आफ्नो लागि गौरी नै महानायिका भएको दावी गरे । ‘सबैले आफूलाई सोचेको उपाधि दिन सक्छ । दिनेलाई दिने अधिकार छ । लिनेलाई लिने अधिकार छ । यो क्षेत्रमा हामीले धेरै वर्ष बिताएका छौँ । र, शिव जी र मलाई लागेको कुरा त्यति हो,’ भुवनले थपे ।

त्यसपछि पत्रकारले गौरीलाई आफ्नो भनाई राख्न लगाए ।

‘जाना था जापान, पहुच गया चिन भनेको जस्तो भएको छ यो प्रेसमिट । विषयबस्तु त ‘डाँडाको वरपीपल’को हो । तर, म यो टपिकमा कसरी आएँ ?’ गौरीले भनिन् ।

गौरीले घुमाउरो शैलीमा करिश्मा उपाधिको लायक नभएको र आफुले यतिका समय काम गर्दा केहि नपाएको गुनासोसम्म पोख्न भ्याइन ।

उनले अगाडी थपिन, ‘होला शिव र भुवनसँग ३०-३४ वर्षदेखि काम गरेको हिसावले, त्यो आधारमा पनि भन्नु भएको होला कि यसो पनि गर्न सकिन्छ । त्यो पनि हुन सक्छ । त्यसमा दुई मत छैन ।’

‘र जहाँसम्म मैले यो पद लिने-नलिने, यसमा एउटा कुरा भन्न चाहन्छु । जे उपाधि दिएपनि त्यो उपाधि कागलाई हेल्मेट लगाएको जस्तो नहोस । जसले पाएपनि धान्न सकिने हुनु पर्यो । डिजर्भ गर्ने हुनु पर्यो । कसैले कसैलाई सम्मान दिदा त्यो सम्मानको लायक छु कि छैन भन्ने अन्तरबोध पनि हुनु पर्यो । त्यसरी अन्तरबोध गरेर त्यो चिजलाई स्वीकार्न सक्छ भने ओके ।’

गौरीले अगाडी आफुले काम सुरु गर्दा उपाधिको लागि नगरेको पनि बताइन् । ‘हामीले काम सुरु गर्दा यो बन्छु, त्यो बन्छु भनेर सुरु गरेनौँ । खास भन्ने हो भने यो देशमा यस्ता उपाधिको कुनै औचित्य नै छैन । जस्तो कि म आएदेखि देखिरहेको छु । बिभिन्न किसिमका उपाधिले सिँगारी राखेका हुन्छन मान्छेलाई । मानौ हामि एउटा तस्विरलाई सिँगारेर भित्तामा टसाउनलाई मात्र त्यो गरिरहेका छौँ । मलाई उपाधि चाहिदैन । हामि श्रमजीवि हौँ । हामीलाई श्रम गर्ने मौका दिनुहोस ।

गौरीले आज हामि जे सत्य देखाउछौँ त्यो भोलिका पुस्ताले सत्य नै मान्ने भएकाले अहिले नै सहि मान्छेलाई सहि उपाधि दिन आग्रह पनि गरिन ।

‘कुनै पनि उपाधि सहि मान्छेलाई दिनुस । डिजर्भ गर्नेलाई दिनुस । यो होइन कि चार जना मान्छेलाई खुसि बनाउन । किनकि तपाईहरुको गल्ति भोलि गएर इतिहास बन्छ । त्यो इतिहासले हाम्रो भावी पुस्ताको मनस्थिति बिगार्दिन्छ । सत्य त्यहि नै हुन्छ । आज तपाईहरु जे बोल्नु हुन्छ, जे लेख्नु हुन्छ । त्यो सत्यलाई नबिगार्नुस । हामि कामले प्रुभ गर्छौ । म के हो, के होइन भनेर । यस्तो चिजहरुको पछाडी चाई नलागौँ ।’

गौरीले अगाडी भनिन्, ‘आज मैले एउटा के पाएकी छु सरकारको तर्फबाट । म आजसम्म चिनिएको मान्छे पनि होइन: नेपाल सरकारको तर्फबाट । हिजो पनि थिइन् । राजाको बेलामा म कुनै गोरखा दक्षिणबाहु पाएको मान्छे पनि होइन । तर, के मैले काम गरेको थिएन र ? म त्यो लायकको थिएन र ? थिए होला त ? म आफैले पनि प्रश्न गर्छु ।’

‘तर त्यो पद सबैभन्दा ठुलो होइन । ठुलो के हो त ? तपाईहरुले दिएको एउटा स्नेह हो, माया हो । हामीलाई स्वीकार्ने तपाईहरुको एउटा स्वभाव हो । त्यो ठुलो पद हो । त्यो पद भन्दा बाहिर कुनै ठुलो पद हुँदै हुदैन । त्यसैले यस्तो कुरामा नलागौँ ।’

स्मरण रहोस केहि वर्ष अगाडी चलचित्र प्राविधिक संघ (नेफ्टा)ले राजेश हमाललाई महानायकको उपाधि दिएको थियो । यस्तै गत वर्ष करिश्मा मानन्धरलाई ‘आरके इन्टरटेन्टमेन्ट’ले महानायिकाको ताज लगाइदिएको थियो ।

प्रतिक्रिया दिनुहोस्